राजविराज । बुद्ध एयरको जहाजको टायर पञ्चर भएपछि सोमबार राजविराजबाट काठमाडौं जाने यात्रु घण्टौँसम्म विमानस्थलमै रोकिएका छन् । निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो राजविराज आइपुगेको जहाजमा अवतरणपछि प्राविधिक समस्या देखिएपछि यात्रुको यात्रा थप अनिश्चित बनेको हो ।
सोमबार दिउँसो २ बजे राजविराज पुग्नुपर्ने जहाज काठमाडौं विमानस्थलमा हवाई चाप र प्रतिकूल मौसमका कारण साँझ ५:३० बजे मात्रै अवतरण गरेको थियो । यात्रु ओरालिसकेपछि जहाजको टायर पञ्चर भएको जानकारी दिइएपछि काठमाडौं जान प्रतीक्षामा रहेका यात्रुहरू अलपत्र परेका हुन् ।
लामो समयसम्म उडानको निश्चित समय नपाउँदा यात्रुहरू आक्रोशित बनेका छन् । ढिलाइका कारण व्यक्तिगत, शैक्षिक तथा व्यावसायिक काम प्रभावित हुने उनीहरूको गुनासो छ । विशेष गरी काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान समात्नुपर्ने यात्रुहरू समयमै गन्तव्य पुग्न नसक्ने चिन्तामा छन् ।
दिउँसो १ बजेदेखि नै विमानस्थल पुगेका यात्रु साँझसम्म पनि उडानको टुङ्गो नलाग्दा भोक र प्यासले समेत हैरान भएको बताउँछन् । लामो प्रतीक्षाका बाबजुद स्पष्ट जानकारी र आवश्यक व्यवस्थापन नहुँदा यात्रुको असन्तुष्टि बढेको छ ।
सोमबार राजविराजबाट काठमाडौं जान ६९ जनाले टिकट काटेका थिए । जहाज ढिलाइ भएपछि आठदेखि १० जनाले टिकट रद्द गराएको तथा पाँच जनाले मंगलबारका लागि टिकट सारेका छन् ।




