पर्सा । बेमौसमी वर्षाका कारण पर्साका किसानले लगाएको विभिन्न बालीमा क्षति पुगेको छ । गत शुक्रबार बिहानदेखि शनिबारसम्म परेको अविरल वर्षाले विशेष गरी तोरी, सुर्ती तथा तरकारी खेती प्रभावित बनाएको छ । त्यस्तै, पाकेर काट्न तयार भएको धान भित्र्याउनसमेत किसानलाई समस्या भएको छ ।
जिल्लाको ठोरी गाउँपालिकामा वर्षाको प्रभाव बढी देखिएको छ । यहाँका किसानले लगाएको तोरी, सुर्ती, राजमा, आलु, काउली, बन्दा, लसुन, मूला र भन्टालगायतका बाली प्रभावित भएका छन् । लगातारको वर्षाले खेतमा पानी जम्दा कतिपय बाली नष्ट भएका छन् भने बाँकी बालीको उत्पादनमा समेत असर पर्ने देखिएको छ ।
ठोरी गाउँपालिका ३ ब्रह्मनगर क्षेत्रमा किसानको प्रमुख नगदेबालीका रूपमा रहेको सुर्ती खेतीमा वर्षाले ठूलो क्षति पुर्याएको छ । सुर्ती रोपाइँ सम्पन्न भइसकेपछि परेको पानीले धेरै बिरुवा नष्ट गरेको छ । नष्ट भएका बिरुवाको ठाउँमा पुन: रोपाइँ गर्न आवश्यक बिरुवा पाउन कठिन हुनुका साथै खेती गर्ने उपयुक्त समय समेत घर्किँदै गएको छ ।
त्यस्तै, ठोरी गाउँपालिका ५ सुवर्णपुरमा लगाइएको तोरी खेती पनि वर्षाबाट प्रभावित भएको छ । जिल्लामै सबैभन्दा बढी तोरी खेती हुने यस क्षेत्रमा हरेक वर्ष करिब ६०० बिघा जमिनमा तोरी लगाउने गरिएको छ । यस वर्ष पनि करिब ९५ प्रतिशत खेतीयोग्य जमिनमा तोरी छरिसकिएको थियो ।
तर, बीउ उम्रिन नपाउँदै परेको अविरल वर्षाले अधिकांश खेतीमा क्षति पुर्याएको छ ।
तोरी खेतीका लागि किसानले खेत दुईपटक जोतेर डीएपी, युरिया र पोटास मल प्रयोग गरी बीउ छरेका थिए ।
रासायनिक मलको अभावका बीच आवश्यक सामाग्री जुटाएर खेती गरेका किसानलाई वर्षाले थप आर्थिक भार थपेको छ । अब पुन: खेती गर्न बीउबिजन खरिद, मलको व्यवस्था र खेत जोताइमा थप खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
धान भित्र्याउन पनि कठिनाइ
बेमौसमी वर्षाले हिउँदेबालीसँगै पाकेर तयार भएको धानमा समेत असर पारेको छ । धान काट्ने र भित्र्याउने समयमा लगातार पानी परेपछि खेतमा पानी जमेको छ । काटिसकेको धान सुकाउन नपाउँदा र सुरक्षित रूपमा भण्डारण गर्न कठिन भएपछि किसान समस्यामा परेका छन् ।
ठोरीबाहेक पर्साका अन्य स्थानीय तहमा पनि तरकारी तथा धान खेती प्रभावित भएको छ । खेतबारीमा पानी जम्दा तरकारीका बिरुवा कुहिने, बाली बिग्रिने र उत्पादन घट्ने जोखिम बढेको छ ।
वर्षाले किसानलाई दोहोरो मारमा पारेको छ । एकातिर तोरी र सुर्ती खेतीमा गरेको लगानी नष्ट हुने अवस्था छ भने अर्कोतिर धान भित्र्याउन नसक्दा थप क्षति हुने चिन्ता बढेको छ । पुन: खेती गर्नुपर्ने अवस्था आएमा किसानको उत्पादन लागत समेत बढ्ने देखिएको छ ।
वर्षाबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गरी प्रभावित किसानलाई आवश्यक राहत, बीउबिजन र रासायनिक मल उपलब्ध गराउन स्थानीय तह तथा सम्बन्धित कृषि निकायसँग किसानले अपेक्षा गरेका छन् ।




