काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट कारबाहीमा परेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीले आफूहरूमाथिको कारबाही बारे पुनर्विचार गर्न आग्रह गरेका छन् । क्यानको पछिल्लो निर्णयबाट आफूहरू दुखी बनेको भन्दै उक्त निर्णय सच्याउन उनीहरूले आग्रह गरेका हुन् ।
यसमा क्यानले अभिभावकीय भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ छ । साथै आफूहरू जस्ता क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने अवस्था बन्न सक्ने तर्फ उनीहरूले चिन्ता व्यक्त गरेका छन् । ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
क्यानले उनीहरूमाथि कारबाही गरेको भोलिपल्टै क्यानको निर्णयप्रति आपत्ति जनाएका हुन् । यस्तै खेलाडीहरूको ग्रेडिङमा पनि समस्या उत्पन्न भएको उनीहरूको भनाइ छ । ग्रेडिङले खेलाडीहरूको मनोबल बढ्ने विश्वाश व्यक्त गरे पनि त्यसले थप समस्या ल्याएको उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै समयमा तलब नआएको पनि उनीहरूले गुनासो गरेका छन् । सहमति अनुसार ग्रेडिङ र तलब उपलब्ध नभएको तथा मापदण्ड नबनेको भन्दै उनीहरूले गुनासो गरेका छन् । यस्तै बिना सम्झौता आफूहरूलाई तलब दिइएको उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
ग्रेडिङ लगायत विषयमा जिज्ञासा गर्दा उल्टै आफूहरूलाई स्पष्टिकरण सोधिएको र कारबाही गरिएको भन्दै चार खेलाडीले असन्तुष्टि व्यक्त गरेका छन् । तर यसले आफूहरूलाई दुखी तुल्याएको उनीहरूले बताएका छन् । क्यानको यस्तो निर्णयले पछिल्लो पुस्ताका खेलाडीलाई पनि निराश बनाउने उनीहरूको भनाइ छ ।







