नेपालगन्ज । बाँकेमा दादुरा महामारीकै रूपमा फैलिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा दादुराका २ सय ६५ जना बिरामी फेला परेका छन् ।
त्यस्तै नेपालगन्ज उपमहानगरपालिकामा एक जना दादुरा बिरामी बालकको मृत्यु भएको छ । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आइतबार नेपालगन्जको दादुरा प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर बिरामीका परिवारसँग पनि भेट गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार १२ पुसमा पहिलो पटक नेपालगन्जको वडा नं। ७ मा ६ जना बालबालिकामा दादुरा फेला परेको थियो ।
२० पुसमा नेपालगन्ज ५ का २ वर्षका बच्चाको दादुराबाट मृत्यु भएको थियो । त्यतिबेलासम्म नेपालगन्जमा संक्रमण ३६ जनामा फैलिएको थियो । २२ पुसदेखि नै नेपालगन्जमा दादुराविरुद्धको खोप लगाउन सुरु गरिएको थियो ।
२४ पुसमा खजुरा गाउँपालिकामा दादुराका बिरामी फेला परेका थिए । ३ माघदेखि खजुरामा पनि दादुराको खोप लगाउन सुरु गरिएको छ । ४ माघमा नरैनापुर गाउँपालिकामा दादुराका बिरामी फेला परेका थिए । ५ माघदेखि नरैनापुरमा दादुराविरुद्धको खोप लगाउन थालिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका पाँच स्थानीय तहमा गरी २ सय ६५ जना दादुराका बिरामी फेला परेका छन् । कुल बिरामीको ७७ प्रतिशत अर्थात् २ सय ५ जना नेपालगन्जमा छन् ।
नेपालगन्जको १७ वडामा संक्रमण फैलिएको भए पनि ५ वटा वडामा २२ जनाभन्दा बढी दादुरा बिरामी भेटिएका छन् । वडा नं। ८ मा ३२, ७ मा ३०, १६ मा २७, ११ मा २५ र ५ मा २२ जना छन् । नगरमा अहिले पनि २६ जना दादुरा बिरामीको घरमै आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
१ सय ७८ जना निको भइसकेका छन् भने नेपालगन्ज उपमहानगरपालिका ५ मा २ वर्षका बालकको दादुराको उपचारको क्रममा मृत्यु भइसकेको छ ।
जिल्लाको दोस्रो धेरै दादुरा बिरामी नरैनापुर गाउँपालिकामा २६ जना छन् । त्यसैगरी खजुरा गाउँपालिकामा १८, डुडुवा गाउँपालिकामा १० र कोहलपुर नगरपालिकामा ६ जना दादुरा बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा नेपालगन्जमा २६, नरैनापुरमा २१, डुडुवामा ८, खजुरामा ४, कोहलपुरमा ४ जना गरी ६३ जनाको होम आइसोलेसनमा उपचार भइरहेको छ ।
नेपालगन्जको लक्षित समूहमा ४२ हजार ९ सय ८० जना रहेकोमा ४४ हजार ६ सय ४७ जना अर्थात करिब १०४ प्रतिशतले खोप पाएका छन् । खजुरामा १८ हजार ४ सय ५९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा १७ हजार ६ सय ६७ जना अर्थात् ९६ प्रतिशतले खोप लगाएका छन् ।
नरैनापुरमा १४ हजार २२ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ९ हजार ९ सय १३ जना अर्थात् ७१ प्रतिशतलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका अन्य स्थानमा खोप लगाउने क्रम जारी रहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन श्रेष्ठले बताए । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।




