नेपालगञ्ज । बाँकेको राप्तीसोनारीमा भयानक तरिकाले दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँएका छन् । मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ हुलाकी सडक खण्ड अन्तर्गत चिलहरियामा गएराति ८ बजे नेपालगन्जबाट बैजापुर जाँदै गरेको भे ५ प ७००६ नम्बरको स्पेलेन्डर र चिलहरियाबाट दक्षिणतर्फ जाँदै गरेको भे ९ प ६८८७ नम्बरको पल्सर मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना घाइते भएको बाँके प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते हुनेहरुमा भे ५ प ७००६ नम्बरको स्पेलेन्डर मोटरसाइकल चालक राप्तीसोनारी ४ का स्थानीय ३७ वर्षीय शिव रावत, भे ९ प ६८८७ नम्बरको पल्सर मोटरसाइकल सवार तीन जना सोही गाउँपालिकाको वडा नं. ५ का १७ वर्षीय संगीत वैश्य, १७ वर्षीय मनिष कार्की र १८ वर्षीय धिरज डाँगी रहेका छन् ।
घाइतेहरु मध्ये पल्सर मोटरसाइकल सवार संगीत वैश्य र स्पेलेन्डर मोटरसाइकल चालक रावत गम्भीर घाइते भएका छन् । उनीहरुको सबैको नेपालगन्ज मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ ।
गम्भीर घाइते रावत सशस्त्र प्रहरी बल नं ३० गणमा कार्यरत रहेका छन् । इलाका प्रहरी कार्यालय बैजापुरले दुई वटै मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।




