काठमाडौं । सुनसरीको इटहरीमा टिप्परको ठक्करबाट आमाछोरोको मृत्यु भएको छ । मंगलबार दिउँसो इटहरीको मुख्य चोकमा ना १ ख १९०७ नम्बरको कान्छाराम कन्ट्रक्सनको टिप्परले आमा–छोरी सवार स्कुटरलाई ठक्कर दिएको थियो ।
आमा–छोरी सवार को १४ प ५२४ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिएको हो । ठक्कर पश्चात घाइते भएकी २२ वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएपछि आमाछोरीकै निधन भएको हो ।
टिप्परको ठक्करबाट इटहरी उपमहानगरपालिका–८ की ३९ वर्षीया सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । सरिताकी छोरी २२ वर्षीया अनुष्का गम्भीर घाइते भएकी थिइन् ।
गम्भीर घाइते अनुष्काको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अनुष्काको मंगलबार राति मृत्यु भएको हो ।
टिप्परको ठक्करपछि स्थानीय प्रदर्शनमा उत्रिएका थिए । स्थानीय प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा मंगलबार साँझसम्म नै इटहरी तनावग्रस्त बनेको थियो ।




