सर्लाही । सर्लाहीको एक पेट्रोल पम्पमा साँझमै लाखौं रकम लुटपाट भएको छ । सर्लाहीको पर्सा गाउँपालिका वार्ड नं. २ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प) मा शुक्रबार साँझ हतियारसहित आएका लुटेराहरुले हवाई फायर गर्दै लुटपाट गरेका हुन् ।
पर्सा गाउँपालिका वार्ड नम्बर ३ का वडाध्यक्ष भिखारी साहले संचालन गरेको सो पेट्रोल पम्पमा १० लाख रकम लुटेर लगेको संचालकले बताएका छन् । सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले ४ लाख रुपैयाँ लुटेर लगेको बताए ।
उपरीक्षक राठोरले घटनाको विषयमा अनुसन्धान र लुटेराहरुको खोजी कार्य भइरहेको बताए । घटनास्थलबाट गोलीको खोका समेत बरामद भएको छ । लुटपाट भएको पेट्रोल पम्पदेखि सय मिटर पर नेपाल प्रहरी र सशस्त्र प्रहरीको चौकी छन् ।






