सर्लाही । लामो खडेरीपछि पर्याप्त वर्षा हुँदा सर्लाहीका किसानहरु खुसी भएका छन् । अहिले भइरहेको वर्षाले आकाशे पानीको भरमा खेती हुने जिल्लाको उत्तरी तथा पूर्वी भेगका किसानलाई ठूलो राहत मिलेको छ । अब किसानले मकै रोप्ने सुरसार गरेका छन् ।
बैशाख दोस्रो साता भएको वर्षामा पनि यहाँका केही किसानले मकै रोपिसकेका छन् । आकाशे वर्षाले उखु र अन्य बालीलाई पनि फाईदा गरेको छ । लालबन्दी नगरपालिका–१३, पत्थरकोटका स्थानीयवासी एवं वडा सदस्य मोहन राउतले लामो प्रतिक्षापछि जमिन भिज्ने गरी वर्षा हुँदा किसानहरु खुसी भएको जानकारी दिए ।
व्यावसायिक रुपमा तरकारी हुने केही क्षेत्रमा भने बजार ल्याएर बेच्ने बेला भएको तरकारी बालीमा दुई दिनदेखिको झरीले क्षति प¥याएको किसानले गुनासो गरेका छन् । यस्तै, भारी वर्षा नभई सामान्य झरी पर्दा नै जिल्लाको भित्री कच्ची सडकहरु भने हिँड्न मुस्किल पर्ने गरी हिलाम्मे भएका छन् ।
निर्माणाधीन अवस्थामा रहेका तथा वर्षौदेखि निर्माण कार्य अलपत्र छाडिएका सडकहरु हिलाम्मे र जलमग्न भएका हुन् । घाम लाग्दा धूलो उडेर हिँड्नै नसकिने पूर्व–पश्चिम हुलाकी सडक हिजोदेखि भइरहेको झरीले हिलाम्मे भएको बलरा नगरपालिका का मियर अभर कुमार सिङ्गले गुनासो गरेका छन् ।






