सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वार्ड नम्बर ८ को एक परिवारले आफ्ना स्वर्गीय अभिभावकको स्मृतिमा शिक्षा पुरस्कारको लागि एक लाखको अक्षय कोष स्थापना गरेको छ ।
स्वर्गीय वालकृष्ण वाग्लेको परिवारले हरिवन नगरपालिका वार्ड नम्बर ८ कै बेतालीमा रहेको जनजागृति माध्यामिक विद्यालयमा एक लाखको अक्षय कोष स्थापना गरेको हो ।
हरेक वर्ष कक्षा ८ मा सर्वोत्कृष्ठ अंक ल्याएर उत्तिर्ण हुने एक छात्रा र एक छात्र गरि दुई विद्यार्थीलाई पुरस्कार प्रदान गर्न एक लाखको वालकृष्ण स्मृति पुरस्कार कोष स्थापना गरेको उहाँका कान्छा छोरा चूडामणि वाग्लेले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व रक्षामन्त्री एवम् प्रतिनिधि सभाका सदस्य हरि उप्रेतीले विद्यालयलाई अक्षय कोषको रकम हस्तान्तरण गर्नु भएको थियो ।
यो वर्षको पुरस्कार उक्त जनजागृति माध्यामिक विद्यालयबाट कक्षा ८ मा प्रथम भएका विद्यार्थी तेज बहादुर वस्नेत र द्धितिय विद्यार्थी शिवानी मोक्तानले प्राप्त गरेका छन् । उनीहरुलाई नगद दुई हजार पाँच सय र प्रमाण पत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।
अक्षय कोष एवम् पुरस्कार हस्तान्तरण कार्यक्रममा पुर्वरक्षा मन्त्री हरि उप्रेती, हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी, वडा अध्यक्ष प्रज्वल ढुंगाना लगायतले वाग्ले परिवारले गरेको काम प्रशंसनीय भएको धारणा राखेका थिए ।
अर्को वर्षदेखि अक्षय कोषको व्याजबाट पुरस्कारलाई निरन्तरता दिईने विद्यालयका प्रधानाध्यापक चन्द्र मोहन झाले जानकारी दिए । कार्यक्रममा विद्यार्थी, अभिभावक, जनप्रतिनिधि र स्थानीयबासीको उपस्थिति रहेको थियो ।




