रौतहट । गढीमाई नगरपालिकाका प्रमुख लगायत कार्यपालिका पदाधिकारीहरूको निर्णयबाट करारमा ४ सय कर्मचारी नियुक्त भएका छन् । नगरपालिकामा ४ सय कर्मचारी नियुक्त भएपछि नगरपालिकाको आर्थिक भार बढेको छ ।
करारमा भर्ना भएका कर्मचारी गणना गर्दा दरबन्दीभन्दा १३ गुणा कर्मचारी बढी छन् । करारका कर्मचारीसहित अहिले नगरपालिकालाई वार्षिक रु ११ करोड तलब बापत भुक्तानी गर्नुपर्ने हुन्छ । अत्यधिक कर्मचारी भारका कारण विकास निर्माणका कार्यहरू प्रभावित देखिएका छन् ।
नगरप्रमुख श्यामप्रसाद यादवले चुनाव जित्नका लागि २५ वटा मत हुने परिवारबाट एक जनालाई जागीर दिने घोषणा गरेका थिए । सोही अनुरूप अहिले करारमा यतिविघ्न कर्मचारी भर्ना गरिएको हो । नगर प्रमुखसँगै वडाध्यक्ष, कार्यपालिका सदस्यहरूले पनि भागबण्डामा करार कर्मचारी भर्ना गराएको बताइएको छ ।




