रौतहट । पछिल्लो समय नयाँ तरिका अपनाई गोलिया चोरी तस्करी गर्ने गरेको रौतहटको वन क्षेत्रमा देखिएको छ । काठ चोर तस्कर समूहले दुई वटा साइकलको प्रयोग गरी बडेमानको हरियो सालको गोलिया साइकलबीचमा राखी वन क्षेत्रबाट पेशेवर शैलीमा चोरी तस्करी गर्ने गरेको रहस्य खुलेको छ । डिभिजन वन कार्यालय, रौतहट अन्तर्गतका वृन्दावन सबडिभिजन कार्यालय मातहतको चेतनगर वन सुरक्षा पोस्टका वन कर्मचारीहरूले काठ चोर तस्कर समूहका नयाँ तरिका पत्ता लगाएका हुन् ।
यही मंसिर २० गते बुधबार बिहान करिब ५:३० बजे गस्ती गर्ने क्रममा चार वटा साइकलमा दुई वटा हरियो बडेमानको सालको गोलिया नियन्त्रणमा लिन सफल भएपछि वन कर्मचारीहरूलाई यस घटनाले नराम्ररी झस्काइदिएको छ । सामान्य साइकलको प्रयोगबाट टायरगाडा, ट्याक्टर, भ्यान, जीप, बोलेरो जीपमा मात्र लोड गरी लैजान सक्ने आकारको गोलिया सहजै चोरी तस्करी गर्न सक्छन् भन्ने रौतहटको पछिल्लो यस घटनाले पुष्टि गरेको छ ।
नयाँ तरिका प्रयोगमा ल्याइएका साइकलमा रिक्शाको चक्का प्रयोग गरिएको रौतहट घटनाले देखाएको छ । एउटा मात्रै साइकलको प्रयोगबाट गोलिया तस्करी गर्दा साइकलबीचको फ्रेमको भागलाई परिमार्जन गरी गोलाइ आकार बनाइन्थ्यो, तर यो पछिल्लो काठ चोर तस्करले अपनाएका साइकल टाढाबाट हेर्दा सामान्य देखिए पनि यसमा प्रयोग हुने हरेक पाटपुर्जालाई नियाल्नु पर्ने देखिन्छ ।
यसरी गोलिया चोरी तस्करीमा प्रयोग भई नियन्त्रणमा लिइएका चार वटा साइकलमध्ये दुई वटा साइकलमा लोड गरिएका गोलिया १२.१५ क्युफिट र अर्कोमा ९.९१ क्युफिट परिमाणको रहेको डिभिजन वन कार्यालय, रौतहटले जनाएको छ । जसको हालको बजार मूल्य १ लाख १० हजारभन्दा बढी रहेको वन कार्यालयले जनाएको छ ।
यो तरिकामा गोलियाको माथि बसी एक जनाले साइकलको हेन्डललाई नियन्त्रण गर्ने, उक्त साइकलको दायाँ बायाँ दुई जना र पछाडिबाट एक वा दुई जनाले धकेल्दा साइकलमा गोलिया लोड गरी गन्तव्यमा सहजै लैजान सकिने देखिन्छ ।
यसबाट सहजै अनुमान लगाउन सकिन्छ कि अझै चोर तस्करले आवश्यकता अनुसार थप जनशक्ति प्रयोग गरी आफूले चाहेजति मोटाइको गोलिया वनजङ्गल क्षेत्रबाट चोरी तस्करी गर्न सक्ने देखिन्छ । तर बढीमा १० फिटदेखि १२ फिट लम्बाइसम्मको एक थान गोलिया उक्त तरिकाको दुई साइकल प्रयोग गरी सहजै चोरी तस्करी गर्न सकिन्छ ।




