बारा । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने क्रममा भएको विवादपछि भएको झडपमा परेर एक जनाको ज्यान गएको छ । त्यस्तै, १० जना घाइते भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई वटा पालिका हेर्ने गरि खटाएको प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रको विषयलाई लिएर त्यहाँ झडप भएको हो ।
मिश्रलाई हाजिर गर्न दिने र नदिने बीच भएको झडपमा गोली चल्दा एक जनाको ज्यान गएको र १० जना घाइते भएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिकाको दरबन्दीमा रहेका मिश्रलाई मंसिर २२ मा मन्त्रालयले सिम्रौनगढ नगरपालिकाको पनि जिम्मेवारी दिएको थियो ।
नगरप्रमुख किशोरीप्रसाद कलवारले मिश्रलाई हाजिर गराउन खोजेपछि आन्दोलित कर्मचारी र जनप्रतिनिधिहरुले रोक्न खोजेका हुन् । नगरपालिकाका मेयर किशोरी शाहले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराउन नगरपालिका लैजान खोज्दा स्थानीय शिक्षक, कर्मचारी र स्थानीयबासीसँग विवाद बढेपछि झडप भएको हो ।
झडपपछि प्रहरीले चलाएको गोलीबाट घाइते भएका १ जनालाई नारायणी अस्पतालले मृत घोषणा गरेको छ भने मृतकको पहिचान खुलेको छैन । दोहोरो झडपमा १० जना भन्दा बढी घाइते भएको बताइएको छ । नगरसभा बस्ने विषयमा भएको विवादका कारण लामो समयदेखि यो नगरपालिकाका विद्यालय र स्वास्थ्य सेवा ठप्प छ ।
शिक्षक र कर्मचारीले तलव नपाएको भन्दै ५ महिनायता आन्दोलन गरेपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको हो । कर्मचारी र शिक्षकले मेयरमाथि आक्रमण गर्न खोजेपछि स्थिति नियन्त्रण लिन गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अहिले नगरपालिकाको अवस्था सामान्य छ ।




