वीरगञ्ज । पछिल्लो समय पर्सामा रहेको राष्ट्रिय जंगलबाट काठको तस्करी बढेको छ । तस्करहरूले वनबाट दिनदहाडै रुख काटेर तस्करी गर्ने गरेका छन् । पछिल्लो दुई हप्ताको अवधिमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट धमाधम तस्करीको लागि वनबाट काटेर ल्याइएको काठ बरामद गरेको छ ।
राष्ट्रिय जंगलबाट काटेर ल्याई तस्करी गर्नको लागि लुकाएर राखिएको काठ प्रहरीले जिल्लाको पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका लगायतका स्थानबाट बरामद गरेको हो । उक्त पालिका वनसँगै जोडिएका पालिका हुन् ।
राष्ट्रिय वनमा चोरी तस्करी रोक्नको लागि डिभिजन वन कार्यालयको सब डिभिजन कार्यालय रहेको भए पनि कर्मचारीहरूकै कमजोरी र लापरवाहीका कारण राष्ट्रिय जंगलबाट काठको तस्करी भइरहेको साझेदारी वनका अध्यक्षहरूले बताएका छन् ।
वन कर्मचारीहरूकै मिलेमतोमा जंगलबाट काठ तस्करी हुने गरेको तथा तस्करहरू पक्राउ परे पनि सामान्य जरिवानामा छुट्ने गरेका छन् । पर्सामा रहेको वन जंगलबाट सधैंजसो काठको तस्करी हुने गरेको तथा दाउराको लागि स्थानीयले पनि काँचो रुख काट्ने गरेका छन् ।
राष्ट्रिय वनको सुरक्षाको लागि ठाउँ ठाउँमा डिभिजन वन कार्यालयहरू पर्सामा पनि स्थापना भएका छन् । तर पनि काठ तस्करहरूलाई समात्न भने ती कर्मचारीले सकेका छैनन् । वन कर्मचारीहरूले जति प्रयास गरेपनि वनबाट रुख काटेर तस्करहरूले काठ तस्करी गर्न छाडेका छैनन् ।




