बारा । प्रहरीले चलाएको गोलीबाट युवकको मृत्यु घटनालाई लिएर उनका आफन्त र नगरवासीहरुले तेस्रो दिन पनि प्रदर्शन जारी राखेका छन् ।
घटनाको छानविनसहित गोली हान्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनु पर्ने, मुख्यमन्त्री र मेयरले राजीनामा दिनुपर्ने लगायत माग राखी उनीहरुले पूर्वपश्चिम राजमार्गको निजगढ खण्डमा प्रदर्शन गरेका हुन् ।
निजगढमा शनिबार २ बजेदेखि राजमार्ग ठप्प पारी टायर बालेर प्रदर्शन भइरहेको छ । प्रदर्शनमा स्थानीय नगरवासी, मृतकका आफन्त, कांग्रेसका वहालवाला र पूर्वजनप्रतिनिधि, नेता, कर्मचारी र शिक्षकहरू रहेका छन् ।
सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच बुधबार भएको झडपको क्रममा प्रहरीको गोली लागी सिम्रौनगढ १ ननसगराढाट गाउँका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको थियो ।
उनको शव नारायणी अस्पताल वीरगन्जमा राखिएको छ । मृत्यु भएको ४ दिन भइसक्दा पनि आफन्तले शव बुझेका छैनन् ।
प्रदर्शनकारीले मुख्यमन्त्री सरोज यादव र मेयर किशोरी साह कलवारको राजीनामा, मृतकलाई क्षतिपूर्ति, गोली चलाउन आदेश दिने प्रहरी निरीक्षक रविभूषणमाथि कारबाही, मुख्यमन्त्री यादवको फोनको कल ट्रेस गर्न माग गरेका छन् । मुख्यमन्त्री र मेयरको उक्साहटमा प्रहरीले गोली चलाएको प्रदर्शनकारीको आरोप छ ।
सिम्रौनगढ नगरपालिकमा प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई मेयर साहले हाजिर गराउन खोजेपछि पाँच महिनादेखि नगरपालिकाको मूलद्वारमा तलब नपाएर आन्दोलनमा रहेका शिक्षक कर्मचारी र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । नगरपालिकामा नगरसभा हुन सकेको छैन । नगर अस्पताल महिनौंदेखि र विद्यालयहरू सातादेखि बन्द छ ।




