सप्तरी । सप्तरीको राजविराज बसपार्कको निर्माण पूरा नभएपछि सडकबाटै बस सञ्चालन भइरहेको छ । नगरमा सडकबाट बस, मिनी बस, माइक्रो लगायतका सार्वजनिक यातायात सञ्चालन हुँदा दुर्घटनाको खतरा रहेको स्थानीय बताउँछन् । बसपार्क निर्माणमा ठेकेदारको ढिलाइका कारण निर्माण सम्पन्न हुन सकेको छैन ।
वि.सं. २०४४ मा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले पहिलो पटक शिलान्यास गरेका थिए । त्यसपछि २०४६ मा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले शिलान्यास गरेका थिए । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र २०७४ सालमा मा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालीन प्रमुख शम्भुप्रसाद यादवले संयुक्त रूपमा बसपार्कको शिलान्यास गरेका थिए ।
सहरी विकास मन्त्रालयबाट १६ करोड ३८ लाख ९६ हजार ५१९ रुपियाँमा काम गर्ने ठेक्का पाएको काठमाडौंको कुलेश्वरस्थित सिनर्जी बिल्डर्स प्रालिले बसपार्क निर्माणका लागि २०७४ साल पुस १६ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले २०७७ साल पुस १८ गतेभित्र बसपार्क निर्माण गरिसक्नु पर्ने सम्झौतामा उल्लेख थियो तर निर्माण कम्पनीले तीन पटक म्याद थप गराएपनि हालसम्म ८५ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजका प्रमुख प्रदीपकुमार सिंहका अनुसार ठेकेदार कम्पनी सिनर्जी बिल्डर्सलाई आगामी छ महिनाभित्र निर्माण सकेर हस्तान्तरण गर्न समयसीमा दिएको जानकारी दिए । उनले संसदीय समितिको अनुगमनपछि चाडपर्व आएकाले केही समय ढिलो भएपनि अब छ महिनाभित्र निर्माण सकेर हस्तान्तरण हुने बताए ।




