काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेधावी विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइएको छ । समान अङ्क ल्याएका एकै ब्याचका विद्यार्थीमध्ये एउटालाई काखा र अर्कोलाई पाखा लगाउने प्रवृत्ति देखिएको छ ।
विश्वविद्यालयले सोमबार आयोजना गरेको ४९ औँ दीक्षान्त समारोहमार्फत उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई वितरण गरेको विभिन्न पदक तथा पुरस्कारमा गलत निर्णय गरिएको फेला परेको हो ।
विभिन्न विषयमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीमध्ये त्रिविले वातावरण केन्द्रीय विभाग अन्तर्गतका क्याम्पसबाट स्नातकोत्तर (एमएससी) तहमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई ‘मदन विद्या वातावरण विज्ञान पुरस्कार र पदक’ वितरण गरेको छ ।
तर उक्त विषयमा दुई जना छात्राले समान अङ्क ल्याए पनि त्रिविले भने आफूखुसी एक जनाको नाम सार्वजनिक गरेर अर्कालाई अन्याय गरेको छ । उक्त विषयमा उन्नति अर्याल र सुस्मा तिम्सिनाले समान ३.८४ सिजिपिए प्राप्त गरेका थिए ।
परीक्षा नियन्त्रण कार्यालयले कुनै आधारबिना नै तिम्सिनालाई मात्रै उक्त पुरस्कार र पदकका लागि योग्य भएको भनेर सूचना सार्वजनिक गर्यो । समान प्राप्ताङ्क भएपनि तिम्सिनालाई मात्रै किन पुरस्कारका लागि योग्य बनाइयो भन्ने विषयमा त्रिविका जिम्मेवार अधिकारीले चित्त बुझ्दो जवाफ दिन सकेका छैनन् ।
पीडित विद्यार्थी अर्यालले भनिन्, “डिन कार्यालयदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म गुनासो गर्दा पनि चित्त बुझ्दो जवाफ पाइएन । समान अङ्क ल्याउने विद्यार्थीमध्ये एउटालाई काखा र अर्कोलाई पाखा लगाउने त्रिविको नियतले चित्त दुखेको छ ।”
उनले यस बारेमा जानकारी दिन आफू आइतबार विभागमा जाँदा त्यहाँका पदाधिकारीले पुरस्कारका लागि नाम सार्वजनिक गरिएका तिम्सिनाको शैक्षिक प्रमाणपत्र ल्याउन भनेको बताउँदै भनिन्, “हामीले अर्काको प्रमाणपत्र कहाँबाट खोजेर लैजाने हो ? प्रमाण जुटाउने काम त विश्वविद्यालयको हो, विद्यार्थीको कसरी हुन सक्छ ?”
परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने डिन कार्यालयबाट आएको उत्कृष्ट विद्यार्थीको तथ्याङ्कका आधारमा आफूहरूले सूचना जारी गर्ने र सोही आधारमा पदक तथा पुरस्कार वितरण गर्ने बताए । एक तहका विद्यार्थीको समान अङ्क आएको विषयमा आफूले जानकारी नपाएको बताउँदै उनले भने, “यस विषयमा म अध्ययन गर्छु ।”




