काठमाडौं । काठमाडौं चाबहिलका युवक आयुष शर्मा (नाम परिवर्तन) ले दुइ वर्षअघि साथीभाइसँग पहिलो पटक भेप (इ–सिगरेट) को सर्को ताने । त्यसपछि उनलाई भेपको लत बस्यो। अहिले उनी भेपको नियमित प्रयोगकर्ता हुन् । ‘सुरुमा स्वादका लागि तानेको थिएँ, अहिले बानी नै प¥यो,’ उनले भने ।
त्यस्तै काठमाडौं बानेश्वरका २३ वर्षीय सविन थापा (नाम परिवर्तन) ले कलेजमा पढ्दा लागेको चुरोटको लत छाड्न भेपको सहारा लिए । पछि उनी पनि त्यसकै लतमा परे । उनी अहिले चुरोट र भेप दुवै प्रयोग गर्छन् । सजिलै र थरीथरी स्वादमा भेप पाइन थालेपछि प्रयोग गर्ने युवाको संख्या बढ्दै गएको छ ।
‘अनलाइनबाटै बिक्री गरेर दैनिक अढाई लाख नाफा हुन्छ,’ काठमाडौंका एक अनलाइन बिक्रेताले भने । ती व्यापारीका अनुसार प्रत्यक्ष पसलमा किन्न आउनेभन्दा अनलाइनबाट माग गर्ने धेरै छन् ।
अनलाइनबाट भेपको कारोबार गर्न थालेको पाँच वर्षजति भएको ती व्यापारीले बताए । त्यस्तै ५ वर्षदेखि भेपको व्यापार गर्दै आएको ललितपुर पुलचोकस्थित अर्का व्यापारी भेपको माग बढ्दै गएको बताउँछन् । ‘माग पहिलादेखि नै उच्च छ,’ ती व्यापारीले भने ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालमा १ करोड १० लाख रुपैयाँभन्दा बढीको भेप आयात भएको छ । त्यस्तै आव २०७९/८० मा ४ लाख २६ हजार ३७२ थान भेप आयात भएको छ ।
एक वर्षदेखि बजारमा नयाँ स्वादमा भेप आएको छ । अहिले प्रयोग गरेर सकिएपछि फाल्ने भेपको माग बढी हुने गरेको छ । फरक–फरक स्वादका कारण युवाको आकर्षण डिस्पोजेवल भेपमा बढिरहेको विरानगरका एक बिक्रेताले भने ।
ती व्यापारीका अनुसार नयाँ स्वादमा आएको भेपको खुद्रा मूल्य बजारमा २ हजार पर्छ । दुई हजारमा बिक्री गर्दा ६ सय रुपैयाँ नाफा हुन्छ । बिजुलीमा चार्ज गरी क्वायल मात्र फेर्ने भेपको डिभाइस भने डिस्पोजेवलको तुलनामा महँगो पर्छ ।
पुनः प्रयोग गर्न मिल्ने डिभाइस पनि फरक फरक मूल्यमा बजारमा उललब्ध छन् । नेपालमा भेप चीन र अमेरिकाबाट आयात हुने गरेको बिक्रेता बताउँछन् । भेपको मूल्य डिभाइस र गुणस्तर अनुसार फरक फरक हुन्छ । यो समाचार नागरिक दैनिकमा छ ।




