सर्लाही । सर्लाहीमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको बागमती नगरपालिका ४ सुकुम्बासी बस्तीकी ३१ वर्षीया बोल्न नसक्ने युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय हरिवनका अनुसार बलात्कारमा परेकी युवती अविवाहित हुन् । पक्राउ पर्नेमा सुकुम्बासी बस्तीका ३५ वर्षका हरि भनिने हिराबहादुर भुजेल, सोही ठाउँका ४२ वर्षीय राम भनिने खेलेन्द्र परियार र २१ वर्षीय अनिल भनिने धनलाल बराइली छन् ।
यही पुस १० गते राति करिब ११ बजे उनीहरुले बोल्न नसक्ने ती युवतीलाई रक्सी खुवाएर नजिकैको लहरीबारीमा लगेर सामूहिक बलात्कार गरेका अनुसन्धानको क्रममा खुलेको छ ।
पीडित महिलाको प्रादेशिक अस्पताल मलंगवामा स्वास्थ्य परीक्षण गरिएको छ । उनको अवस्था सामान्य छ । आरोपी तीनै जनालाई जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले थप अनुसन्धान थालेको छ ।




