रौतहट । रौतहटमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणले थप तीन जनाको ज्यान गएको छ । रौतहटको गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा तीन जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा गरुडा नगरपालिका–४, बौधीमाई नगरपालिका–२ र राजदेवी नगरपालिका–२ का एक, एक जना पुरुष रहेको जिल्ला अस्पताल गौरले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट रौतहटमा ज्यान गुमाउनेको सँख्या २६ पुगेको छ ।
त्यस्तै आज रौतहटमा ५९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको कुल सँख्या ४८२ पुगेको छ । गौर अस्पतालको पीसीआर ल्याबमा १४१ जनाको नमुना परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल गौरले जनाएको छ ।
अस्पतालका अनुसार संक्रमित हुनेमा गौर नगरपालिकामा १४, मौलापुरका ११ र परोहाका १० जना छन् ।






