महोत्तरी । चिसो बढेपछि महोत्तरीका तीन पालिकाले विद्यालय बन्द गरेका छन् । रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले हिजोदेखि र गौशाला नगरपालिका आजदेखि लागू हुने गरी विद्यालय बन्द गरेका हुन् । सोनमा गाउँपालिकाले चार दिन, रामगोपालपुर नगरपालिकाले नौ दिन र गौशाला नगरपालिकाले एक हप्ताको जाडो बिदाको सूचना प्रकाशित गरेका छन् ।
अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै बिदा दिने निर्णय गरिएको सोनमा गाउँपालिकाका अध्यक्ष विषेश्वर यादवले बताए । रामगोपाल नगरपालिकाका मेयर रामदुलार साहले चिसोबाट विद्यार्थी प्रभावित हुने भन्दै जाडो छल्न केहि दिन बिदा दिइएको बताए ।
गौशालामा आज सम्पन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठकले भोलिदेखि पुस मसान्तसम्म बिदा दिन आग्रह गरे अनुसार एक हप्ताको जाडो बिदा दिइएको गौशाला नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।
चिसो बढेपछि अन्य पालिकाका विद्यालयमा पनि विद्यार्थीको संख्या घटेको जनाइएको छ । आइतबारदेखि चिसो ह्वात्तै बढेपछि यहाँका हाट बजारमा समेत चहलपहल घटेको छ ।




