रौतहट । आम जनता पार्टी (आजपा) ले आउँदो ११ माघमा मधेस बन्दको घोषणा गरेको छ । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन’ माग गर्दै आजपाले माघ ११ गते मधेश बन्द गर्ने घोषणा गरेको हो ।
आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वित्तिय पीडित संघर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो । यी विभिन्न माग गर्दै आजपाले यसअघि मधेस प्रदेशको राजधानी जनकपुरधाममा विरोध प्रदर्शन गरेको थियो । सरकारसँग यी माग गर्दै आजपाले यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेको थियो ।
सरकारले आफूहरूको माग सम्बोधन गर्ने विषयलाई गम्भिर रुपमा नलिएको भन्दै आजपाले आम हडताल गर्ने अवस्थामा पुगेको हो । आजपा मधेस प्रदेशका इन्चार्ज सुधीर यादव र अध्यक्ष उमेश कुशवाहाले संयुक्त रुपमा आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई दबाब दिने उद्देश्यले मधेस बन्दको घोषणा गरिएको जनाएका छन् ।
आजपाले मधेस बन्द अघि १ देखि ९ माघसम्म जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने, १० माघमा मोटरसाइकल र्याली तथा सोही दिन साझा मसाल जुलुस र ११ माघमा मधेस बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
यसअघि आजपाले १० माघमा मधेस बन्द सहित विभिन्न कार्यक्रम घोषणा गरेको भएपनि त्यसलाई परिमार्जन गर्दै ११ माघमा राष्ट्रिय सभाको निर्वाचनकै दिन मधेस बन्दको कार्यक्रम सार्वजनिक गरेको छ ।
रौतहटको चन्द्रनिगाहपुरमा बसेको बैठकले आन्दोलनका कार्यक्रम परिमार्जन गर्ने निर्णय गरेको हो । यसैगरी आजपाले वीरगंजमा विभिन्न राजनीति दलका प्रतिनिधि, पीडित, सरोकारवाला लगायतको सहभागितामा सर्वपक्षीय छलफल गरेको थियो ।




