गुल्मी । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका ३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा ५ परीक्षा उत्तीर्ण गरेकी हुन् ।
उनले कोशी प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेश अन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोग अन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन् ।
उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट वि.सं. २०७५ मा उत्तीर्ण गरेकी थिइन् । यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् ।
उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन् । उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन पनि गर्छिन् ।




