सर्लार्ही । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरिपुर्वा नगरपालिकामा विगत ११ महिनामा पाँच जना प्रशासकीय प्रमुखको सरुवा गरेको छ । उपसचिव शम्भुप्रसाद यादव मात्र तीन पटक हाजिर हुने र अन्यत्र सरुवा हुने गरिसकेका छन् ।
यस विचमा पालिका महिनौं प्रशासकीय प्रमुखविहिन भएको छ । यस पालिकामा हाजिर भएका केहि प्रशासकीय प्रमुख बाटोबाटै सरुवा लिएर गएका छन् भने केहिको हाजिर गरेको घण्टा भरमा जिम्मेवारी खोसिएको थियो ।
हरिपुर्वा नगरपालिकामा गत चैत १५ गते प्रशासकीय प्रमुख बसन्त न्यौपाने सरुवा लिएर गएपछि ७ पटक प्रशासकीय प्रमुखको सरुवा भइसकेको छ । न्यौपानेले अन्यत्र सरुवा लिएपछि चैत २२ गते सूचना तथा संचार प्रविधि मन्त्रालयका धुव्र आचार्यलाई मन्त्रालयले हरिपुर्वाको प्रशासकीय प्रमुखको रुपमा सरुवा गरेको थियो ।
उनले कार्यालयमा उपस्थित नै नभई चैत २९ गते पुनः सूचना तथा संचार प्रविधि मन्त्रालयमै सरुवा थमौती गराए । मन्त्रालयले मेयर शाहको जोडकरले वैशाख १४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मधेश प्रदेशबाट शाखा अधिकृत शम्भुप्रसाद यादवलाई पहिलो पटक हरिपुर्वा सरुवा गरेको थियो ।
उक्त सरुवा तीन दिन पनि टिकेन । उनलाई वैशाख १७ गते मन्त्रालयले फेरि साविककै कार्यालयमा सरुवा फिर्ता गर्यो । उनले कार्यभार जिम्मा लिन समेत पाएका थिएनन् ।




