काठमाडौं । सिरहामा आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यससँगै प्रदेश २ का आठवटै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको अनुसार सिरहा जिल्ला संकट व्यवस्थापन केन्द्रको आज शनिबारको निर्णयले शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना महामारीको दोस्रो लहर फैलिएर कोरोना संक्रमण बढ्दै गएपछि सप्तरी र बाराले अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने आदेश जारी गरेका छन् । केही जिल्लाले क्रमशः निषेधाज्ञा लम्व्याउँदै लगेका छन् ।
रौतहटमा जेठ ७ गते राति १२ बजेसम्मका लागि र पर्सामा जेठ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । धनुषा, महोत्तरी र सर्लाहीमा यसअघि नै जेठ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।




