रौतहट । रौतहटमा आइतबार विभिन्न मन्दिरहरूमा पूजापाठ तथा सरसफाइ भएको छ । माघ ८ गते सोमबार मित्रराष्ट्र भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठा हुने भएकोले रौतहटका विभिन्न धार्मिक स्थलहरूमा सरसफाइका साथै पूजापाठ भएको हो ।
यस्तै परोहा नगरपालिकाले सूचना प्रकाशित गरी धार्मिकस्थलहरूमा भगवान् रामजानकीको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा धार्मिक अनुष्ठान कार्यक्रम हुने भएकोले नगरभित्र माघ ७ र ८ गते कुनै पनि पशुपक्षी, जीवजन्तुको वध तथा माछामासु बिक्री वितरण नगर्न सूचना जारी गरिएको छ ।
गौर नगरपालिकाले पनि सूचना जारी गरी माघ ८ गते मर्यादा पुरुषोत्तम श्रीरामको प्राण प्रतिष्ठा हुने शुभ मुर्हूत रहेकोले गौर नपा–५ रामजानकी मन्दिर लगायत नगरका अन्य मन्दिरहरूमा प्राण प्रतिष्ठा तथा पूजाआजा गर्नुका साथै घर घरमा दीपावली मनाउन आग्रह गरेको छ ।




