काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा नेपालका जनकपुर, वीरगन्ज लगायत विभिन्न क्षेत्रमा पनि विभिन्न धार्मिक कार्यक्रम गरिएका छन् । जस अनुसार जनकपुरमा सवा लाख दीप प्रज्ज्वलन गरिएको छ ।
राजर्षि जनक र राजा दशरथकै समयदेखि मिथिला र अबधबीच रहिआएको सम्बन्धलाई अझ प्रगाढ बनाउन राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जानकी मन्दिरमा सवा लाख दीप बाल्नुका साथै विशेष आरती गरिएको छ ।
अयोध्यामा राम मन्दिरको उद्घाटन भइरहँदा मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत जिल्लामा उल्लास छाएको हो । यस्तै वीरगन्जमा नवनिर्मित रामजानकी मन्दिरमा भगवान् राम र सीताको मूर्तिको प्राण प्रतिष्ठा गर्ने क्रममा कलश यात्रा निकालियो ।
कलश यात्रामा हजारौं भक्तजनको सहभागिता रहेको थियो । अयोध्यामा भगवान् रामको प्राण प्रतिष्ठाकै समय पारेर वीरगन्जमा नवनिर्मित रामजानकी मन्दिरमा भगवान् राम, माता सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठा गरिएको हो ।
यसैगरी भारतको अयोध्यामा राम मन्दिरको उद्घाटनको अवसरमा धनगढीमा राम उत्सव तथा शोभायात्रा निकालिएको छ । उत्सव तथा शोभायात्रामा ठूलो संख्यामा स्थानीय बासिन्दा सहभागी भएका थिए ।
धनगढी चौराहास्थित राम जानकी मन्दिरबाट सुरु भएको शोभायात्रा नगर परिक्रमा पछि पुनः मन्दिर पुगेको थियो । यस अवसरमा मन्दिरमा शान्ति पाठ, जप र हवन भजन किर्तन गरिएको थियो ।
यस्तै कञ्चनपुरको बेलौरी बजारमा रहेको कालिका मन्दिरमा अखण्ड रामायण पाठ गरिएको छ । अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको अवसर पारेर आइतबारदेखि अखण्ड रामायण पाठ सञ्चालन गरिएको हो । योसँगै बेलौरी नगरपालिकामा रहेका सबै मन्दिरमा दीप प्रज्वलन तथा पूजा अनुष्ठान समेत गरिएको छ ।




