काठमाडौं । परराष्ट्र मन्त्रालयले राहदानी वितरणमा नयाँ प्रणाली प्रयोगमा ल्याउने भएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर बायोमेट्रिक्स प्रयोग गरेर राहदानी वितरणको तयारी गरेको हो ।
उक्त तयारीले पूर्णता पाएसँगै सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिनुपर्ने झन्झट हट्ने छ । यस बारे प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का (रक्षा) र नारायणकाजी श्रेष्ठ (गृह) तथा भौतिक योजनामन्त्री प्रकाश ज्वालासँगै परराष्ट्रमन्त्री एनपी साउदबीच छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार छलफल भएको हो । विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर राहदानी वितरण सुरु भए सेवाग्राहीले अनलाइनमार्फत आवेदन दिन पाउने र हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्नेछन् ।
यस्तै विदेशमा रहेका नेपालीले राहदानी नवीकरणका लागि आफू रहेको मुलुकमा अवस्थित नेपाली राजदूतावास जानुपर्ने बाध्यता समेत हट्ने छ । विदेशको हकमा नेशनल आईडी कार्ड (राष्ट्रिय परिचयपत्र) बनाइसकेका वा नवीकरण गर्नुपर्ने सेवाग्राहीको हकमा राजदूतावासमा नगइकनै पासपोर्ट उपलब्ध हुने छ ।
बैठकपछि सम्बन्धित विभागहरुलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी थाल्न निर्देशन पनि दिइएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा राष्ट्रिय परिचयपत्र बनाउँदा सेवाग्राहीले बायोमेट्रिक्स दिँदै आएका छन् । परराष्ट्र मन्त्रालयले राहदानीका लागि उक्त परिचयपत्र अनिवार्य गरेको छ ।
अहिले सेवाग्राहीले पञ्जिकरण विभागमा बायोमेट्रिक्स दिए पनि राहदानीका लागि राहदानी विभागमा समेत अनिवार्य बायोमेट्रिक्सका लागि उपस्थित हुनैपर्ने बाध्यता रहेको छ ।




