काठमाडौं । सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजातहरु बारे नयाँ कार्यविधि जारी गरेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरण गर्न भन्दै तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले २६ फागुन २०७८ मा जारी गरेको निर्णय खारेज गर्दै भिजिट भिसामा जाँदा चाहिने कागजात र पूरा गर्नुपर्ने शर्त बारे स्पष्ट व्यवस्था गरिएको हो ।
अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका बुधबारदेखि चाहिने कागजातका विवरण सार्वजनिक गरेको हो । मंगलबार विभागले आफ्नो वेबसाइटमार्फत यात्रा परामर्श जारी गर्दै ६ बुँदमा आवश्यक पर्ने कागजातहरू सार्वजनिक गरेको हो ।
भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने विभागले जनाएको छ । सम्बन्धित देशको भिसा वा अन-अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिने पनि भनिएको छ ।
यस्तै, भ्रमणमा जानेहरूले दुई तर्फी हवाई टिकट बुझाउनु पर्नेछ । भिजिट भिसामा जाने भन्दै विदेशमा गएर समयमै नफर्किई अवैध रूपमा काम गर्ने भेटिएको भन्दै अध्यागमन विभागले यसमा कडाइ गर्ने जनाएको छ ।
भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पेश गर्नुपर्नेछ । कसैको निमन्त्रणा भएमा त्यसको पत्र वा ५०० अमेरिकी डलर बराबरको नगद सहटी भएको प्रमाण चाहिने पनि अध्यागमनले जनाएको छ ।
युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वघोषणा गर्नुपर्ने र त्यसमा भएको विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमै रहने भनिएको छ । अध्यागमनले भिजिट भिसामा जानेले समयमै स्वदेश फर्किन्छु भनेर स्वघोषणा गर्नुपर्नेछ ।
विदेश जानुअघि उक्त देशको भाषा, संस्कृति र कानुन सम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्न पनि विभागले अनुरोध गरेको छ । भिजिट भिसामा नक्कली कागजात, झुट्टा विवरण समेत तयार पारी द्वन्द्धग्रस्त मुलुकहरूसम्म पुगेर अलपत्र पर्ने गरेको भन्दै अध्यागमन विभागले सचेत रहन अनुरोध गरेको छ ।
भारत र बेलायती सेनामा सरकारको स्वीकृतिमा भर्ना हुने बाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने गैरकानुनी र राष्ट्रहित विपरित भएको भन्दै यस्ता काममा जाने व्यक्तिहरूको उद्धार गर्न कठिन हुने भन्दै यसमा संलग्न नहुन अनुरोध गरेको छ ।




