रौतहट । प्रादेशिक अस्पताल गौरको सम्पूर्ण सेवा ठप्प पारेर स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । माघ ७ गतेदेखि उनीहरूले अस्पतालको आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प गरेका हुन् ।
विगत ३ महिनादेखि अस्पतालका स्वास्थ्यकर्मीहरूले तलब नपाएको र ६ महिनादेखि अतिरिक्त सुविधाहरू नपाएपछि उनीहरू आन्दोलित भएका हुन् । प्रादेशिक अस्पताल गौर ६ महिनादेखि अस्तव्यस्त छ ।
प्रदेशको जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले यो अस्पतालमा कार्यालय प्रमुखको जिम्मेवारी दुई जनालाई दिएपछि विवाद भएको र सो बखतदेखि नै बेथिति बढेको हो ।
डा. सञ्जीवकुमार सिंहलाई मन्त्रालयले कार्यालय प्रमुखको जिम्मेवारी सुम्पेर पठाएको १५ दिनपछि सोही मन्त्रालयले डा. कृष्ण साहलाई पनि कार्यालय प्रमुखको जिम्मेवारी दिएर खटाएको थियो ।
मन्त्रालयको यो कार्यबाट असन्तुष्ट डा. सिंह अदालतको शरणमा गएका थिए र उनलाई तीन/चार दिनअघि उच्च अदालतले अस्पतालमा कार्यालय प्रमुखको जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो ।
तर, मन्त्रालयले भने अहिलेसम्म यसको टुङ्गो लगाएको छैन । कार्यालय प्रमुख दुवै जना कार्यकक्षमा बस्दैनन् । विवाद बढ्ने हुँदा दुवै जना प्रमुखले अस्पताल बाहिरैबाट कार्यालय सञ्चालन गर्दै आएका छन् ।
अस्पतालमा कर्मचारीहरू समयमा नआउने, स्वास्थ्यकर्मीहरूले औषधि लगायतको अभावमा बिरामीहरू चेकजाँच नगर्ने जस्ता कार्यहरूले गर्दा यो अस्पतालमा बेथिति बढ्दै गएको छ ।
हालै अस्पतालको बेथिति बारेमा विकास समितिका अध्यक्ष महमद अनवर हासिमले पत्रकार सम्मेलन गरेर अस्पतालको बेथिति सार्वजनिक गरेका थिए ।
उनले प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र सिंहले अस्पतालमा दुई जना कार्यालय प्रमुख पठाएपछि उनीहरूले अस्पतालको दैनिकी बिगारेको आरोप लगाएका थिए ।




