सलार्ही । बालुवा, गिटि, ढुङ्गा ढुवानीका क्रममा भएको लापरवाहीले सडक भत्कीन थालेको छ । पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाहीको बाँके खोला पुल देखि बागमती खोला पुल सम्मको सडकखण्डमा गुड्ने सवारीको लापरवाहीका कारण ठाउँ ठाउँमा सडक भत्कीन थालेको छ ।
स्थानिय विकास पुर्वाधारका साथै राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि भन्दै ओसार पसार गरिएका निर्माण सामाग्रीका कारण सडक दिन प्रतिदिन जिर्ण बन्दै गएको छ ।
नदी तथा सडकको छेउमै रहेका क्रसर उद्योग र स्थानिय निकायले मनोमानी रुपमा लगाएको खोला ठेक्काबाट नदीजन्य पदार्थको ढुवानीका कारण टिपरहरु लापर्वाही पुर्ण तरिकाबाट सञ्चालनमा आउँदा सडक जोखिम बढ्नुको साथै पुलको अवस्था समेत जिर्ण भईसकेको छ ।
टिपर तथा ट्याक्टरले सडकमा पानी चुहाउँदै खोला तथा क्रसरबाट निकालिएको नदीजन्य पदार्थ, बालुवा, गिटी र ढुङ्गा झार्दै हिन्ने गर्दा सडकको आयु दिन प्रतिदिन घट्दै गएको छ ।
सडक विग्रिन र भत्कीन थालेका कारण दिनहुँ जसो सडक दुर्घटना समेत हुँदै आएको ट्राफिक प्रहरीले जनाएको छ । भने पानी चुहाउँदै हिड्ने त्यस्ता मालवाहक सवारी साधनका कारण सडकमा खाल्डा समेत पर्ने गरेका छन् । सडकमा यस्ता मालवाहक सवारी साधनहरुको लापरवाही सञ्चालन हुँदा समेत निमयमन गर्ने निकाय मौन बसेको पाईएको छ ।
बालुवा, गिटी र ढुङ्गा ढुवानी गर्दा पानी चुहाएको पाईए कार्वाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक केदारमान दोङ्गले बताउनु भयो । तर प्रहरीकै अगाडी पानी चुहाउँदै र ढुँङ्गा, गिटी र बालुवा झार्दै टिपरहरु हिन्दा समेत उनीहरुलाई कार्वाही गर्नुको साटो मौन बसेको देखिएको हो ।
सडकमा पानी झार्ने सवारीलाई रु १ हजार ५ सय सम्म जरिवाना गर्ने नियम भएको जनाउने ट्राफिक प्रहरीले कार्वाही भने गरेको पाईदैन । पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाहीको बाँके खोला पुल देखि बागमती खोला पुल सम्मको सडक खण्डमा दैनिक ५०/५२ वटा टिपर गुड्ने गरेको र उनीहरुले प्रतेक दिन १० देखी १२ टिप गर्ने गरेको एक ठेकेदार कम्पनीका सञ्चालकले बताएका छन् ।
उनका अनुसार टिपरले रु ४४० सेप्टी र टेक्टरले १०० सेप्टी बालुवा एकटिपमा ढुवानी गर्ने गर्दछन् । कोरोना महामारी र निषेधाज्ञाका विचमा समेत निर्वाध रुपमा बालुवा, गिटी र ढुङ्गा निकासी भैरहेको छ ।




