काठमाडौं । भिजिट भिसाका नाममा कर्मचारीबाटै मानव तस्करी हुने गरेको तथ्य बाहिरिएपछि यो प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ८ अध्यागमन अधिकृतहरु फरार भएका छन् ।
भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी, सुन तथा नगद तस्करी र गैरकानूनी गतिविधि रोक्न थालेको अपरेशनमा सरकारका जिम्मेबार निकायहरुले दररेट तोकेर यसमा सघाएको प्रहरीको अनुसन्धानबाट खुलेसँगै यो अपराधमा मुछिएका अधिकृतहरुको भागाभाग चलेको हो ।
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरेसँगै यसमा संलग्न बहालवाला प्रहरी र पूर्व प्रहरी, विमानस्थल कर्मचारी, अध्यागमन अधिकारी र अन्यहरुको संलग्नता रहेको भेटिएसँगै यस्मा संग्लग्न अधिकृतहरु उपर पक्राउ पूर्जी नै जारी गरिएको थियो ।
अध्यागमनका अधिकृतहरुले नयाँको हकमा ५५ हजार र एक पटक विदेश गएर फर्किएका हकमा ४० हजार रुपैयाँ लिएर नक्कली कागजपत्र धारीहरुलाई अध्यागमन अनुमति दिने गरेको तथ्य फेला परेर यसमा जोडिएका कर्मचारीहरु उपर पक्राउ पूर्जी जारी भएसँगै उनीहरु फरार भएका हुन् ।
प्रहरीले अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, ताराबहादुर कुँवर र सुजन फागोविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
प्रहरीले यसमा २२ जनालाई प्रतिवादी बनाएको छ, जसमा ९ जना अध्यागमनका कर्मचारी छन् । यो प्रकरणमा मुछिएका अध्यागमन अधिकृत नरवीर खड्का भने प्रहरी हिरासतमै छन् । उनकै बयानका आधारमा अध्यागमनका अन्य कर्मचारीहरुको संलग्नता पुष्टि भएको हो ।




