वीरगंज । राजस्व छली गरी भारतबाट नेपाल भित्रिएको ३६ लाख मूल्य बराबरको सामान सशस्त्र प्रहरी पर्साले बरामद गरेको छ । वीरगंज १६ स्थित भुटनदेवी मन्दिर पछाडि एउटा घरमा लुकाइराखेको अवस्थामा सामान नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले सूचनाको आधारमा एउटा घरमा लुकाइराखेको अवस्थामा सामान नियन्त्रणमा लिएको जनाएको छ ।
यसैगरी, सीमावर्ती इलाकाबाट अवैधरूपमा १० वटा साइकलमा लोड गरी ल्याउँदै गरेको जुत्ता तथा शृङ्गारका सामानहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा रहेको सामानलाई वीरगंज भन्सारको जिम्मा लगाइएको छ । यसैगरी, जिल्ला प्रहरी कार्यालय, बाराले ४२ लाख मूल्य बराबरका विभिन्न सामानसहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी चौकी पथलैयाले ना ५ ख ३५५९ नम्बरको ट्रकबाट ४० लाख ४४ हजार मूल्य बराबरको खुद्रा सामान र इलाका प्रहरी कार्यालय, महेन्द्रआदर्शले आदर्शकोतवाल गापाबाट २ लाख मूल्य बराबरको गुटखा, चुरोट बरामद गरेको जिप्रका, बाराले जनाएको छ ।




