वीरगंज । एम्बुलेन्स चालकसँग मिलेर अस्पतालहरू सिकिस्त विरामी किनिरहेका हुन्छन् भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । सामान्यत: विश्वास गर्न पनि सकिन्न कि रोगसँग संघर्ष गरिरहेको विरामीले उपचार अघि किनबेचबाट गुज्रनुपर्छ । तर, जतिसुकै अविश्वसनीय लागेपनि अस्पतालहरूका लागि यो सामान्य चलन भइसकेको छ । यो कारोवारमा नामी अस्पतालहरू पनि संलग्न छन् ।
कोहि कसैलाई कुनै रोगले छोयो, दुर्घटनामा पर्यो वा सिकिस्त भएर अस्पताल भर्ना हुनुपर्दा सबैभन्दा पहिले सम्झिने काम हुन्छ, एम्बुलेन्सलाई । तर चालकले विरामीलाई एम्बुलेन्समा राखेर स्वास्थ्य संस्थामा विरामी बेच्ने गरेको पाइएको छ । कुन विरामीलाई कहाँ पुर्याउने भन्ने विषयमा सर्वसाधारणलाई जानकारी नहुँदा सोको फाइदा उठाँउदै एम्बुलेन्स चालकहरूले विरामी ल्याएबापत स्वास्थ्य संस्थासँग हजारौं रुपैयाँ कमिशन लिएर विरामी बेच्ने गरेको बुझिएको छ ।
एम्बुलेन्स चालकहरूले तुरुन्त विशेष उपचार चाहिने गम्भीर विरामी भेटेपछि अस्पतालहरूमा फोन गरेर मोलतोल गर्छन् । बढी बिल उठाउन सकिने र लामो समय उपचार चाहिने विरामी अस्पताल व्यवस्थापकहरूको प्राथमिकतामा पर्छन् । त्यस्ता विरामी ल्याउने एम्बुलेन्स चालकले स्वाभाविक रूपमा बढी रेट पाउँछन् । यसरी आफू किनबेचमा परेको सुईंको न मृत्युसँग लडिरहेको विरामीले पाउँछन् न त परिवार र अरूले नै ।
यो काम यति सहजै भइरहेको छ, मानौं यो वैधानिक हो । अस्पताल व्यवस्थापन हाकाहाकी संलग्न यो कारोबारको खुला बजार र नाफा घाटा छ । कारोवारीहरू प्रति स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल जस्ता जनस्वास्थ्यको क्षेत्रमा आधिकारिक निकायहरू मात्रै होइन, कालोबजारी र दलालीलाई कारवाही गर्ने नेपाल प्रहरी र एम्बुलेन्स सञ्चालन अनुमति दिने जिल्ला प्रशासन कार्यालयहरू समेत मौन देखिन्छन् ।
वीरगंज स्थित नारायणी अस्पतालमा ओपिडीमा चेक गराउँदा रु २५ लाग्छ, नेशनल मेडिकल कलेजमा रु ५० लाग्छ भने अन्य निजी क्लिनिकमा रु ७ सयभन्दा बढी लाग्छ । त्यसैगरी, गर्भवती महिलाको प्रसूति गराउन अस्पताल रोज्ने ज्ञान नहुँदा कतिपय विरामीहरू चर्को शुल्क लिने अस्पतालमा गइरहेका हुन्छन् ।
सुत्केरीको सबै उपचार निशुल्क गर्ने आमा सुरक्षा कार्यक्रम वीरगंजका केहि अस्पतालमा लागू छ । तर, एम्बुलेन्स चालकहरूले त्यस्ता विरामीहरूलाई चर्को शुल्क लिने अस्पतालमा पुर्याएर कमिशन कुम्ल्याउने गर्छन् । आमा सुरक्षा कार्यक्रम नारायणी अस्पताल, वीरगंज हेल्थकेयर, सूर्य हस्पिटल, श्रीराम हस्पिटल लगायतका अस्पतालमा लागू छ ।
यी अस्पतालमा प्रसूति गराउँदा उपचार निशुल्क हुनुका साथै यातायात भत्ता पनि पाइन्छ । कार्यक्रम लागू नभएका अस्पतालमा भने पाइँदैन । तर, एम्बुलेन्स चालकहरूले कार्यक्रम लागू नभएका अस्पतालमा गर्भवती महिलालाई लैजाने गरेका छन् ।
पर्सा, बारा, रौतहट, सर्लाहीसम्म सञ्चालनमा रहेका सरकारी तथा निजी करिव सयभन्दा बढी एम्बुलेन्स चालकहरूको काम विरामीहरुलाई अस्पतालमा बेचेर कमिशन लिने परिपाटी मौलाएको छ । एम्बुलेन्स भाडा कम लिएर चालकले विरामीका आफन्तजनलाई फकाउने गरेका छन् ।
एम्बुलेन्स चालकहरूले विरामी ओसारेर ठग्ने काम गरिरहँदा उनीहरूलाई पनि कानूनी दायरामा ल्याउनु पर्ने र सर्वसाधारणले पनि कुन रोगको उपचार कुन अस्पतालमा सुलभ मूल्यमा हुन्छ भन्ने जनचेतना जगाउनु पर्ने विज्ञहरू बताउँछन् । निजी अस्पतालले शल्यक्रिया, औषधि, शय्या, ल्याब, डाक्टर राउन्ड, नर्सिङ केयर लगायत विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेका छन् ।




