सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका भवन निर्माणका क्रममा निर्माण व्यवसायी समेतको मिलेमतोमा अनियमितता भएको विषयमा विशेष अदालतले फैसला दिएको छ । यस मुद्दामा एक जनाले सफाइ पाएका छन् भने दुई जना दोषी ठहर भएका छन् ।
बिहिबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस मुद्दामा अन्तिम निर्णय गरेको हो । प्रवक्ता तथा उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार अनिल गुप्ताले सफाइ पाएका छन् भने सन्तोषविक्रम साह र शिवनन्दन पासवानलाई विशेषले दोषी ठहर गरेको छ ।
भवन बनाउने ठेक्का पाएका लोकवीर बेताली(पाँचकुमारी जेभीका पार्टनरहरू अनिल गुप्ता र शिवनन्दन पासवानले ४२ लाख रुपैयाँको नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी (अग्रिम भुक्तानी जमानत) तयार गरेको भेटिएको थियो । उनीहरूले उक्त नक्कली ग्यारेन्टीका आधारमा भुक्तानी समेत लिइसकेका थिए । त्यसपछि नगरपालिका भवन निर्माण कार्य रोकिएको थियो ।
यसरी नक्कली बैंक ग्यारेन्टी सर्लाहीको मलंगवास्थित नेपाल बैंक लिमिटेडको ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोषविक्रम साहले गरेको भन्दै अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको थियो । उनीमाथि ३ फागुनमा सजाय निर्धारण हुने भएको प्रवक्ता कार्कीले जानकारी दिए ।
ठेकेदारमध्येका पासवानलाई भने दुई वर्ष कैद सजाय हुने भएको छ । साथै, बिगो बराबरको ४२ लाख पनि जफत हुने विशेषको ठहर छ । अख्तियारले अनुसन्धानपछि २२ भदौ ०७८ मा तीनै जनालाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो ।




