काठमाडौं । प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा हुम्ला र भोजपुरबाट दुई जनालाई पक्राउ गरेको छ । हुम्लामा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अदानचुली गाउँपालिका ३ गोरपाली बस्ने २० वर्षीय हर्क बुमीलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बुमीले ती महिलालाई सोही गाउँपालिका ४ स्थित रिल्मा बनमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गल्फगाडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
त्यस्तै, भोजपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका १२ टक्सार बस्ने ३३ वर्षीय बल बहादुर श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले ती बालिकालाई मंसिर ९ गते सोही ठाउँस्थित सल्लाघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । दुवै घटनामा संलग्नमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




