ललितपुर । ललितपुरको इमाडोलको एक घरबाट ३६ वर्षकी रविना महर्जनले हाम फालिन् । चौथो तलाबाट हाम फालेकी उनको अवस्था गम्भीर थियो । त्यही बेलामा उनको कोठामा ६ वर्षीय बालक र दुई वर्षीया बालिका अचेत अवस्थामा फेला परे ।
उपचारको क्रममा तीनै जनाको निधन भयो । घटनाको प्रकृतिले रविनाले घरबाट हाम फालेर आत्महत्या गरेको देखिएपनि एकिन हुन सकेको छैन । दुई नाबालिग कसरी अचेत भए खुलेको छैन ।
घटनाको समयमा घरमा रविनाको श्रीमान् थिएनन् । घरमा कुनै सुसाइड नोट समेत फेला परेको छैन । तर, महिलाले हाम फालेको प्रकृति र दुई नाबालिगहरू अचेत अवस्थामा फेला पर्नुले घरायसी कलहले घटना निम्त्याएको हुन सक्ने प्रहरी अधिकारीले शङ्का छ ।
तत्काल श्रीमानसँग बयान लिन सक्ने अवस्था नभएकाले प्रारम्भमा प्रहरीले आफ्नै तरिकाले अनुसन्धान अगाडि बढाएर पछि बयान लगायतका प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।




