सलार्ही । सर्लाहीमा जंगली हात्तीको कारण स्थानीय आतंकित भएका छन् । विगत एक महिना अघिदेखि सर्लाहीमा जंगली हात्ती देखा परेको हो । हात्तीले हरिवन, लालबन्दी रानिगन्ज परवानिपुर नवलपुर लगायतका ठाउँमा स्थानीयका घर भत्काउनुका साथै बालिनाली खाएर नोक्सान गरेको छ ।
हात्तीको डरले स्थानीयबासी रातभर जाग्राम बस्न थालेका छन् । तीन वटाको समूहमा आएका जंगली हात्तीले गएराति हरिवन ८ मा आतंक सिर्जना गरेको छ । हात्तीले कम्तिमा पनि दुई वटा घर भत्काउनुका साथै स्थानीयको बालीनाली खाएर नोक्सान गरेको छ ।
हात्तीले हरिवन ८ बेलातीस्थित मोहन भुजेल र डाँडाटोल निवासी सावी श्रेष्ठको घर भत्काएको हो । राति साढे ११ बजे हात्तीले लखेट्दा मोहन भूजेल घाइते भएका छन् ।
‘मध्यराति एक्कासी हात्तीले घर भत्काउन थाल्यो,’ भुजेलले भने, ‘म अर्को घरमा सुतेको थिएँ । अलिपरको घरभित्रबाट हात्तीले मार्यो भन्दै आमा र दिदी चिच्याउन थाल्नुभयो । उठेर धपाउन जाँदा मलाई लखेट्यो । धन्न भाग्न सकेकोले बाँचियो ।’
हात्तीले घर भत्काएर केही अन्न खाएको र मकैमा हाल्न ठिक्क पारेर राखेको खाद पोखेर नष्ट गरेको उनले बताए । ‘पछि सबै गाउँले जम्मा भएर विभिन्न घरेलु सामग्री ठटाएर कराउन थालेपछि हात्ती भाग्यो,’ भुजेलले भने ।
विगत एक महिना अघिदेखि सर्लाहीको लालबन्दी क्षेत्रको जंगलमा बस्दै आएका तीनवटा हात्तीको समूह गएराति हरिवनतिर आएका हुन् । हात्तीले मानवीय क्षति नगरे पनि केही घर भत्काएको र बालीनाली खाएर नोक्सान गरेको हरिवन ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगलले जानकारी दिए ।
‘हात्तीको डरले हामी पनि रातभर सुतेनौँ । हाम्रो गाउँमा पनि केही स्थानीयको केराबारीमा हात्तीले क्षति गरेको छ,’ ढुंगेलले भने । हरिवन ८ को डाँडाटोलबाट बुधबार बिहानी पख चापिनी हुँदै हात्ती पुनः पूर्वतिरै फर्किएको उनले जानकारी दिए ।
डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधब देवले विगत एक महिनादेखि सर्लाहीमा जंगली हात्ती देखिएको बताए । ‘यता आएका हात्ती तीन वटा छन् । बयस्क ती हात्ती प्रायः एउटै समूहमा हिँड्छन्,’ हात्तीले अहिलेसम्म मानवीय क्षति नगरे पनि केही घर भत्काएको र तरकारीसहित अन्य बालीनाली खाएको विवरण हामीलाई प्राप्त भएको छ । हामी क्षतिको मूल्यांकन गरेर पीडितलाई राहत प्रदान गर्ने छौँ ।’
हात्तीले उखु, केरा लगायतको बालीमा क्षति गरेको स्थानीयले बताएका छन् । प्रायः चुरे क्षेत्र र वन जंगल आशपासका गाउँमा हात्तीले दुःख दिने गरेको छ । दिनभर नजिकैको जंगलमा बस्ने हात्ती साँझ परेपछि बस्तीतिर जाने गरेको वन अधिकृत देवले बताए ।
‘हात्ती गाउँतिर आए धपाउनको लागि हामीले टोली परिचालन गरेका छौँ। जंगलमा बस्ने हात्तीलाई लखेट्ने कुरा हुँदैन,’ उनले भने, ‘हात्तीलाई नियन्त्रण गर्ने अन्य कुनै विधि हामीसँग छैन । स्थानीय सचेत हुनुपर्यो । हात्तीलाई जिस्क्याउने, तर्साउने, लखेट्ने नगरे हात्तीले केही गर्दैन । ऊ आफूले वर्षौंदेखि प्रयोग गर्दै आएको बाटो हिड्छ ।’
यसअघि मंगलबार बिहान हात्तीले हरिवन नगरपालिका–१ गमडिकुनास्थित भैरव बहादुर सिंंहको घरमा भत्काएको थियो । हात्तिले सिंहको घर पूर्ण रुपमा भत्काई घरभित्र रहेको एक क्वीन्टल धान र चार क्वीन्टल मकै खाईदिएको प्रहरीले जनाएको छ । हात्तिको आक्रमणबाट घर र खाद्यान्न गरी दुई लाख रुपैंया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।




