काठमाडौं । पछिल्लो समय फाउन्डेशन खोल्ने क्रम बढेको छ । नेपालका दूरदराजमा रहेका उत्पीडित, निमुखा, अल्पसंख्यक र गरिवीको रेखामुनि रहेका वर्गको उत्थान गर्ने नाममा फाउन्डेसन खोल्ने क्रम बढेको देखिन्छ ।
नेताहरुको नाममा फाउन्डेसन खोल्ने होडवाजी सबै राजनीतिक दलमा चलेकै थियो । त्यसको सिको गर्दै कलाकारदेखि व्यक्तिहरुले फाउन्डेन खोल्ने प्रतिस्पर्धा नै गरेका छन् । तर, यसबाट केहि व्यक्तिहरु मोटाउने काम मात्र भएको छ ।
धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा क्रिकेट स्टेडियम बनाउने नाममा देश विदेशमा रहेका लाखौं नेपालीहरुसँग रकम उठाएर चर्चा कमाए । अहिले चितवनको त्यो धुर्मुस–सुन्तली फाउन्डेसन ‘कुन चरिको नाम’ हो भनेजस्तै भएको छ ।
हास्यकलाकारको रुपमा स्थपित सीताराम कट्टेल (धुमुर्स) र कुञ्जना घिमिरे (सुन्तली) ले धुर्मुस-सुन्तली फाउन्डेसनको नाममा करोडौं रकम उठाएर अहिले हिसाब बुझाउँछौं भन्दै जनता झुक्याउने काम मात्र गरिरहेका छन् । फाउन्डेसनसँगै सीताराम कट्टेल (धुमुर्स) र कुञ्जना घिमिरे (सुन्तली) गुमनाम छन् ।
उता, आफूलाई कलाकार, पत्रकार र समाजसेवी दावी गर्ने अर्का व्यक्ति छन् कृष्ण कँडेल । कँडेलले सञ्चालन गरेको इन्द्रेणी फाउन्डेसनमा देशका दूरदराजमा अवसर नपाएर ओझेलमा परेका विभिन्न बालबालिकाहरुलाई क्षमता विकास गराउने, दुःखी पिडितहरुलाई सहयोग गर्ने, बिरामीको उपचार गराउने र दैवीक प्रकोपमा परेकालाई सहयोग गर्ने नाममा नेपालका विभिन्न संघ, संस्थादेखि विदेशमा रहेका नेपालीहरुसँग सहयोग माग्ने गर्दै आएका थिए ।
कँडेलले इन्द्रेणीमा देशका दूरदराजमा रहेका प्रतिभाशाली बालबालिकादेखि स्थापित कलाकारहरु समेत सहभागी गराउने गरेका थिए । उनीहरुलाई प्रयोग गरेर कँडेलले करोडौं कमाइ गरेका छन् ।
त्यहीं पैसाको आडमा कँडेलले सहकर्मी तथा कर्मचारीहरुलाई ‘तपाईंहरु मलाई साथ दिनुहोस्, तलब मात्रै होइन दश वर्षमा घर बनाइदिन्छु’ भन्ने आवश्वासन पनि दिँदै आएका रहेछन् । बाहिर उनको विचार, गायकीपन र भाषण जति राम्रो देखिन्थ्यो, वास्तविकता अर्कै रहेछ भन्ने कुरा खुलेको छ ।
सहकर्मीहरुलाई घर बनाइदिनेसम्मको आवश्वासन दिएका कँडेलले उल्टै ती कलाकार र कर्मचारीलाई सडकमा पु¥याइदिएको समाचार सामाजिक सञ्जालमा यतिबेला भाइरल भएको छ ।
इन्द्रेणी सञ्चालन गर्दा स्थापित कलाकारको सहारा लिएका कँडेलले पछिल्लो समय उनीहरुलाई ओझेलमा पार्दै नवप्रतिभाको नाममा कमला घिमिरे, सचिन परियार, आयुषा गौतम, प्रिन्स लम्साल लगायत थुप्रै बाल कलाकारहरुको प्रयोग गरेका छन् ।
उता, पुराना गायिका र महिला कर्मचारीमाथि यौन दूव्यवहार तथा श्रम शोषण गर्ने गरेको आरोप सामाजिक सञ्जालमार्फत कँडेललाई लाग्दै आएको छ । यसअघि स्थापित गायिका टिका सानु कँडेलसँग असन्तुष्ट भएर इन्द्रेणीबाट बाहिरिएकी थिइन् ।
यतिबेला गायिका शर्मिला श्रेष्ठले आफूमाथि कँडेलबाट सेक्सुअल हेरेमेन्टमा परेको आरोप लगाएर बाहिरिएकी छिन् । उनीसँगै अन्य कलाकारहरुले पनि आफूहरुलाई बिना कारण जागिरबाट निकाएको भन्दै आक्रोश पोखिरहेका छन् ।




