काठमाडौं । अहिलेको परिवेशमा मुलुकको कुनै पनि क्षेत्र आशा लाग्दो देखिएको छैन । व्यापार गर्यो कर तिर्नै गाह्रो । खेती गर्यो, उत्पादनले बजार नपाउने पीरले सताउँछ । शिक्षण पेसा अपनाऔँ न भन्यो, भनेजति तलब नभएर जिन्दगी जिवनै मुस्कील छ । अत: उहि खाडी मुलुक हानिनुको मिकल्प खै ?
खाडी मुलुकमा रोजगारीका लागि जान पनि आम जनताले पटक पटक ठगिनु पर्छ । सरकार भन्छ, निःशुल्क, व्यवसायी भन्छन्, नि:शुल्क पठाउनेसँगै जानू । अब सर्वसाधारणले रकम बुझाउनु बाहेक कुनै विकल्प रहन्छ होला र ? यस्तो अवस्थामा मुलुकका युवाहरुको मन कस्तो भएको होला ।
सरकारले मुलुकलाई समृद्ध बनाउने भन्छ जुन सोच राख्नु गलत पनि होइन् तर सपना देखेर मात्र हुँदैन नि सपना पूरा गर्न आवश्यक तयारी पनि गर्नु जरुरी हुन्छ । सरकारले मुलुकलाई समृद्ध बनाउने भनेको छ तर उसले मुलुकमा रोजगारको सिर्जना गर्ने कुनै लक्षण देखाएको छैन ।
अहिलेको नेपालमा देखिएको आर्थिक उन्नतीको मुख्य कारक भनेको वैदेशिक रोजगार हो । वैदेशिक रोजगारलाई अहिले नै बन्द गर्ने हो भने देशको अवस्था हावा हालेको बेलुन झै हुन्छ ।
हरेक पटक श्रम मन्त्री बन्नेले वैदेशिक रोजगारीमा रहेको विद्यमान बेथिति र विसंगति हटाउने वाचा गर्दै आएका छन् । तर, उनीहरूले वैदेशिक रोजगारमा रहेको गलत परिपाटीलाई हटाउन सकेका छैनन् उल्टै उनीहरूले वैदेशिक रोजगारलाई प्रयोगको वस्तु बनाउने काम गरिरहेका छन् ।
पीडितहरुले न्याय पाउन सकेका छैनन् । पाए पनि ढिला पाउने अवस्थाले लोकतान्त्रिक प्रक्रिया नै कमजोर हुन थालेको छ । हिजो एक राजाले मात्र मुलुक लुटिरहेको अवस्थामा अहिले व्यक्ति पिच्छे छोटेराजा बनेर राज्यको ढुकुटीमाथि रजाइँ गरिरहेका छन् ।
सरकारको निर्देशनमा प्रहरी पनि दोषीहरुलाई पक्राउ गर्न चाहँदैन । त्यसमाथि गलत काम गर्नेहरु आनन्दले सडकमा हिडिरहेका हुन्छन् । हिजो राजाको पालामा राजाबाट डराउने नेताहरु आज आफैँ साँढे गोरु झै भएका छन् ।
गणतन्त्रमा कानुनी शासन हुन्छ भन्ने नेताहरु सरकारमा गएपछि आफैँ राजा बनेर जनतामाथि शासन लाद्न खोजिरहेका छन् । कुनै बेलाको कृषि प्रधान मुलुकका रूपमा परिचित नेपाल अहिले खाद्यान्न आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । सरकारले किसानलाई प्रोत्साहन नगर्दा यस्तो अवस्था आएको भन्दा अनुचित नहोला ।
केहि वर्षयता आम नेपालीहरूले कृषि क्षेत्रलाई त्याग्न थालेका छन् । आफूले उत्पादन गरेको वस्तुहरूको बजारको व्यवस्थापन नभएर लगानी पनि नउठ्ने अवस्था आएपछि उनीहरूले कृषिलाई त्याग्न थालेका हुन् । आम किसानहरू खेती प्रति वाक्क भएपछि अधिकांश जग्गा बाँझो हुने क्रम बढेको छ ।




