सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा पहिलो कोरोना संक्रमण परिक्षण गर्दा ७१ प्रतिशत भन्दा बढीमा संक्रमण देखिएको छ । पहिलो पटक शंकाष्पदहरुको थ्रोट स्वाब संकलन गरेर परीक्षण गराउँदा बरहथवा नगरपालिका क्षेत्रमा ७१ प्रतिशतमा कोरोना संक्रमण फेला परेपछि नगरपालिकाका नगर प्रमुख, जनप्रतिधिनिधिहरु, कर्मचारीहरु, स्थानिय प्रहरी प्रशासन, उद्योग बाणिज्य संघ लगायत सरोकारवाला निकायको सहमतीमा बजार क्षेत्रमा निषेधाज्ञा थप कडाई पार्ने सहमती भएको छ ।
बुधबार बरहथवा नगरपालिकाको सभा हलमा बसेको बरहथवा नगरपालिकाका नगर प्रमुख देवानन्द महतोको नेतृत्वमा बसेको बैठकले कोरोना भाइरसको दोस्रो भेरिएन्ट संक्रमण प्रति कार्य सम्बन्धमा वैकल्पिक व्यवस्था सहित ३ बुँदे निर्णय गरेको नगर प्रमुख महत्तोले जानकारी दिनुभयो ।
तरकारी खरिद बिक्री बजारलाई व्यावस्थापन गरी बिहान ७ देखि १० बजे सम्म मात्र खरिद बिक्री गर्न गराउन, मकै खरिद बिक्री गर्दा खुद्रा खरिद बिक्री बिहान ७ बजेदेखि १० बजेसम्म बजार क्षेत्रको गोला गद्धीबाट गर्ने र बाँकी थोक खरिद बिक्री लोड अनलोड गाउँ गाउँबाटै गर्ने तथा लोड अनलोड गर्ने श्रमिकहरुको आवत जावतका लागि व्यापारीले माग गरेको आधारमा आवश्यकता अनुसार सम्बन्धित वडा कार्यालयबाट सिफारिस पत्र उपलब्ध गराई व्यवस्थापन गर्ने, एम्बुलेन्स र शव बाहन सम्बन्धमा भने केहि समयमा निर्णय गरिने नगर प्रमुख महत्तोले बताउनु भयो ।
बजार क्षेत्र भित्र भिडभाड नियन्त्रणका लागि पूर्ण रुपले कडाई गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । ‘बजार क्षेत्रमा तरकारी र खाद्यान्नका पसल एकसाथ सञ्चालन हुँदा बीचमा निकै भिडभाड भएको थियो’भने केही राजनैतिक दलका नेतृत्वपंत्तिबाट नै निषेआज्ञाको उल्लंघन हुँदा समुदाय स्तरमा दिनप्रतिदिन कोरोना संक्रमण बढी रहेको पाइएको छ ।
बुधबारको बैठकमा सबै राजनैतिक दलका नेताहरु, जनप्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय बरथवाका प्रमुख, सशस्त्र प्रहरी बेस क्याम्प बसबरिया, सुन्दरपुर चोहर्वाका प्रमुख, उद्योग बाणिज्य संघका अध्यक्ष,उद्योगी,व्यापारी लगायतको उपस्थिती रहेको थियो ।
महामारीको रुपमा फैलँदै गएको कोरोना भाईरस संक्रमणबाट आम नगरबासीलाई जोगाउनका लागि सुरक्षाकर्मीले गर्ने कडाईलाई राजनीतिकरण र सम्प्रादायिकरण नगर्न समेत सरोकारवाला सबै पक्ष, तह र तप्कासँग नगर प्रमुख महत्तोले आग्रह गर्नु भयो ।
बरहथवा नगरपालिकाले केही दिनअघि ८४ जनाको थ्रोट स्वाब संकलन गरि परीक्षणका लागि पठाउँदा बुधबार दिउँसोसम्म ५६ जनाको रिपोर्ट आएको छ । जसमा ४० जनाको रिपोर्ट पोजेटिभ आएको बरहथवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै २८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
बरहथवामा कोरोना भाइरस संक्रमणबाट आम नागरिकलाई जोगाउनका लागि ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले कडाई गर्दा विभिन्न राजनैतिक दल एवम उद्योगी व्यापारीबाट आरोप प्रत्यारोप लगाउन सुरु भएको छ ।
सरकारले तोकेको निषेआज्ञाको उल्लंघन गरी प्रहरीको विरोध समेत गर्ने तीनै राजनैतिकदलका नेताहरुलाई समेतकोरोना संक्रमण देखिएको छ ।निषेधाज्ञालाई कडाईका साथ पालना गराउने र कोरोना भाईरस संक्रमणबाट नागरिकहरुको जीउज्यान जोगाउनका लागि प्रहरीले उच्च मनोबलका साथ काम गर्दा राजनैतिक दलहरुका नेतृत्वहरुबाट नै मनोवल गिराउने काम भएको जानकारहरुले बताएका छन् ।
आफ्नो कार्यक्षेत्र भित्रका नागरिकलाई निषेधाज्ञाको पालना गराउँदै कोरोना भाइरस संक्रमणबाट जोगाउनका लागि जनचेतना जागाउने देखि सजग गराउने लगायतका काममा प्रहरी टोलीलाई कडाईका साथ फिल्डमा खटाईएको र प्रहरीले उच्च मनोवलका साथ काम गरी रहेको ईलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भाटले बताउनु भयो ।




