वीरगंज । सार्वजनिक बसमा यात्रा गरिरहेका यात्रुलाई बेहोस बनाई लुटपाट गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना जोगापट्टी ग्राम मछरगाव वडा नं २ का ३७ वर्षीय अखिलेश कुमार साह छन् । उनलाई पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।
उनले बुधबार नारायणघाटबाट वीरगंजतर्फ आइरहेको बसमा चढेका बारा आदर्श कोतवाल गाउँपालिका ८ का उपेन्द्र मुखियालाई मिठाई र बिस्कुट खुवाई बेहोस पारेका थिए । बेहोस बनेका मुखियाका साथमा रहेको ४१ हजार ५ सय रुपैयाँ र १ थान मोबाइल सेट चोरी गरी उनी फरार भएका थिए ।
खोज तलासको क्रममा वीरगंज महानगरपालिका १६ भानुचोकबाट बुधबार साह पक्राउ परेका हुन् । साहको साथबाट २७ हजार ४ सय १० रुपैयाँ र चोरीको एक थान मोबाइल बरामद भएको प्रहरीले जानकारी दिएको छ ।




