ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।
ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय भएको हो ।
बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्स लगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णय समेत गरेको छ । २०१३ मा शिलान्यास गरिएको काठमाडौंलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब ५ किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको ईन्जिनियर महर्जनले बताए ।
सरकारले प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ ।
कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो । यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो ।
टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ ।




