रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । आन्दोलनका कारण नगरपालिका भित्रका विद्यालयको वार्षिक परीक्षा हुन सकेको थिएन । सहमति भएसँगै सोमबारदेखि परीक्षा सुरू हुने भएको हो ।
नगरपालिकाको बजेट पास हुन नसक्दा साउनदेखि शिक्षकहरूले तलब पाएका थिएनन् । सोही कारण शिक्षकहरू आन्दोलनमा उत्रिएका थिए । नगरपालिकाका शिक्षा शाखा प्रमुख तेजनारायण यादवले १० चैतभित्र सबै शिक्षकको तलब उपलब्ध गराउने सहमति भएको जानकारी दिए ।
पालिकाले चैत १ गतेबाट परीक्षा सञ्चालनको तालिका बनाएको थियो । पालिकाभित्र ७ माध्यमिक र २५ आधारभूत तहका विद्यालय छन् । त्यसमध्ये ७ विद्यालयले तलब नपाएसम्म परीक्षा सञ्चालन नगर्ने अडान लिएका थिए भने बाँकीले सुरू गरेपनि शुक्रबारको परीक्षा स्थगित गरेका थिए ।




