महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयागले एकै पटक २४ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाएको छ । अख्तियारले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृतसहित २४ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
११ लाख ९६ हजार ६९५ रुपैंयाँ बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोग लगाउँदै विशेष अदालतमा उनीहरु विरुद्द अख्तियारले मुद्दा दायर गरेको हो ।
सामुदायिक वन क्षेत्रको रुख कटान गर्दा अनियमितता गरेको आरोपमा साहका साथै बर्दिबास नगरपालिका १ का तत्कालीन वडा अध्यक्ष चूडामणि पोखरेलसहित २४ जनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
अख्तियारले प्रतिवादी बनाएकाहरुमा तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुरविरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यस्तै रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेबी बुढाथोकी, कोषाध्यक्ष प्रेम बहादुर थापा, सचिब धन कुमारी मगर भनिने धन कुमारी, तत्कालीन सदस्यहरु उर्मिला थापा मगर र पूर्ण बहादुर सुस्लिङ्ग रहेका छन् ।
यसैगरी महोत्तरी, बर्दिबास नगरपालिका १ बस्ने जग्गाधनीद्वय लिलामणी आचार्य र कृष्ण प्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एम बहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री र सिन्धुलीको सुनकोशी गाउँपालिका ४ का रुख कटान गर्ने ठेकेदार सन्दिप नेपालीलाई पनि प्रतिवादी बनाएर मुद्दा चलाएको छ ।
यस बाहेक सव डिभिजन वन कार्यालय बर्दिवास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वनरक्षकहरु राज किशोर झा, अजय कुमार यादव, राकेश कुमार यादव, नारायण ढुंगेल र दिलिप महतोलाई समेत अख्तियारले प्रतिवादी बनाएको छ ।
यस्तै, नापी कार्यालय, बर्दिवास महोत्तरीका तत्कालीन अमिन राम दरश राउत, मालपोत कार्यालय बर्दिबास, महोत्तरीका तत्कालीन नायब सुब्बा ओम प्रकाश खड्का र बर्दिबास नगरपालिका वडा नं १ का तत्कालीन वडा सदस्य शान्ता देवी श्रेष्ठ, बर्दिबास नगरपालिका वडा नं १ का तत्कालीन वडाध्यक्ष चुडामणी पोखरेल र रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेर बहादुर राउतविरूद्ध समेत अख्तियारले मुद्दा दायर गरेको छ ।




