काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
जसकारण देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश प्रदेशको एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतः सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिक बदली रहने छ ।
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।




