बारा । सभ्य र मर्यादित रुपमा होली पर्व मनाउन जिल्ला प्रशासन कार्यालय बाराले आग्रह गरेको छ । बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले सूचना जारी गर्दै होली पर्वको शुभकामना दिँदै पर्वले आपसी सद्भाव तथा आत्मीयता वृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराले होली मनाउने नाममा कसैको इच्छाविपरीत रंग, गोला हान्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, नशालु पदार्थ सेवन गर्ने जस्ता क्रियाकलाप नगर्न भनेको छ ।
त्यस्तै, होलीमा धार्मिक, सामाजिक सद्भाव भड्काउने, अनावश्यक चर्को आवाजमा ध्वनि प्रदूषण हुने कार्य गर्ने, अश्लील गीत बजाउने, सार्वजनिक शान्ति र सुरक्षालाई प्रभावित पार्ने नगर्न अनुरोध पनि गरेको छ ।
यस्तो कार्य दण्डनीय अपराध हुने भएकाले प्रचलित कानुन बमोजिम कडा कारबाही हुने समेत जानकारी प्रशासनले गराएको छ ।




