रौतहट । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरस्थित एक होटलका कामदार झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । चन्द्रपुर नगरपालिका ५ स्थित मुस्कान होटलमा काम गर्दै आएका वडा नम्बर ६ का ५० वर्षीय कृष्णप्रसाद घिमिरे झुन्डिएको अवस्थामा होटलमै मृत भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख डीएसपी गौरव महतले मृतकको शव परिवारको सहमतिमा पोस्टमार्टमको लागि काठमाडौं पठाइएको जानकारी दिएका छन् । उनले पोस्टमार्टमको रिपोर्ट आएपछि घटना बारे थप तथ्य खुल्ने बताए ।
पीडित परिवारले भने उनको हत्या गरिएको आरोप लगाएको छ । होटल धनीले ४ महिनाको तलब नदिएको भन्दै मृतक घिमिरेले सोमबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएका थिए । मंगलबार होटलभित्रै झुन्डिएको अवस्था फेला पर्नु शङ्कास्पद रहेको पीडित परिवारको दाबी छ ।
घिमिरेको परिवारले होटल धनी गुजरा नगरपालिका ९ अम्तावा गाउँका हबीब मियाँ अन्सारीविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी दिएपछि उनी फरार भएका छन् । फरार अन्सारीको खोजी तथा घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।




