काठमाडौं । सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आवेदन दिन भनेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले चालु आर्थिक वर्ष ०८०/८१ मा प्रदान गरिने शैक्षिक प्रोत्साहन वृत्तिका लागि आवेदन माग गरेको हो ।
आवेदन स्वदेशी विश्वविद्यालय वा त्यसको आंगिक वा सम्बन्धन प्राप्त शिक्षण संस्थामा स्नातक तह प्रथम वर्ष तथा पहिलो र दोस्रो समेस्टरमा अध्ययनरत निजामती कर्मचारीका सन्ततिले दिन सक्नेछन् ।
शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले योग्यता पूरा भएका निजामतीका सन्ततिलाई आगामी १५ दिनभित्र आवेदन आह्वान गरेको छ । आवेदन अनलाइनमार्फत दिने व्यवस्था मिलाइएको छ ।
सामान्य प्रशासनको अनुसार यस्तो वृत्ति लिनका लागि कम्तीमा दश जोड दुई वा सो सरहको परीक्षामा कम्तीमा सी प्लस ग्रेड वा दुइ दशमलव ४ जिपिए वा सो सरह अङ्क प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्ने उल्लेख गरिएको छ ।




