सलार्ही । सर्लाहीको बागमतीमा रहेको भरत ताल केहि समययता पर्यटकीय गन्तव्य बन्दै गएको छ । यस तालले मधेश प्रदेशमा मात्र नभई भारतसम्म पनि पर्यटकीय स्थलको छाप छोड्न सफल भएको छ ।
चुरे पर्वतको फेदी र सधैं बगिरहने बागमती नदीको किनारमा अवस्थित भरत ताल अहिले जिल्लाको मात्रै नभई मधेश प्रदेशकै पहिचानको रूपमा स्थापित भएको छ । प्रकृतिको काखमा अवस्थित मानव निर्मित तालले झट्ट हेर्दा समुद्रको अनुभूति दिलाउँछ । तालको वरिपरि रहेको बगैंचाले पर्यटकहरूको मन झनै लोभ्याउने गरेको छ ।
वाग्मती नगरपालिकाले आम्दानीको स्रोत बढाउन माछा पाल्ने लक्ष्य राखेर २०७६ सालमा पोखरी खन्न थालेको थियो । बाँझो जमिन खन्दै जाँदा ठूलो ताल बनेको हो । त्यसपछि ताल घुमफिरका लागि आकर्षणको केन्द्र बन्यो ।
वाग्मती नगरपालिका ४ र १२ नम्बर वडाको बीचमा रहेको ताललाई पर्यटकीय गन्तव्य बनाउन संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले लगानी गरेका छन् ।
नगरपालिकाले ताललाई ‘वाग्मती माछा पोखरी’ नामकरण गरेको थियो तर स्थानीयले यसलाई ‘भरत ताल’को नामले चिन्छन् । मेयर भरत थापाको नेतृत्वमा पोखरी बनाउन सुरु भएकाले ‘भरत ताल’ भन्ने गरिएको हो ।
पूर्वपश्चिम राजमार्गबाट तीन किलोमिटरको दूरीमा रहेको यो ताल चुरे पहाडको काखमै छ । ताल परिसरमा रहेका अनेक मनोरञ्जनका साधनले यहाँ आउने पर्यटकलाई थप रोमाञ्चित बनाउने गरेको छ ।
भद्रगोल व्यवस्थापन
अधिकांश पर्यटकीय क्षेत्रमा फोहोर व्यवस्थापन चुनौतीको विषय बनेको छ जसमा भरत ताल क्षेत्र पनि अछुतो रहन सकेन । जब ताल नजिक पुगिन्छ त्यहाँ फोहोर मैला व्यवस्थापनमा ध्यान नदिएको जो कोहिले अनुमान गर्न सक्छन् ।
ताल व्यवस्थापनको जिम्मेवार लिएको निकायले सफा गर्न तर्फ ध्यान दिनुपर्नेमा कानमा तेल हालेर पैसा कसरी उठाउन सकिन्छ भन्ने तर्फ मात्र लागि परेको हो कि भन्ने महसुस हुन्छ ।




