सर्लाही । सर्लाहीको बागमती नगरपालिका १ मा एक युवकको वेवारिसे शव फेला परेको छ । चुरेमा पर्ने बागमती नदी छेउको जंगल क्षेत्रमा शुक्रबार साँझ वेवारिसे शव फेला परेको हो ।
बागमती १ ढोपबाट हिरेडाँडा जाने सडकदेखि झण्डै सात सय मिटर पूर्वतर्फ खोल्सीमा अन्दाजी ३५ वर्षको जस्तो देखिने युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
जंगलमा कर्कलो टिप्न गएका स्थानीय महिलाहरुले खोल्सीमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ज्याकेट, सर्ट तथा जिन्सको पाइन्ट लगाएको र घाँटीमा रातो गम्छा बेरेका युवक मृत अवस्थामा भेटिएका हुन् ।
शवको पहिचानको लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती युवकको मृत्युको कारण पनि नखुलेको जनाएको छ ।




